विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकार महासंघलाई ओझ बढाउने गरी काम गर्न आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको पदस्थापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले मुलुकको लोकतन्त्र, शासन व्यवस्था र सुशासनको पक्षमा पत्रकारहरु बुलन्द भएर लाग्नु पर्ने बताउनुभयो ।
उहाँले पत्रकारहरुले सरकारले गरेको राम्रो कामको प्रचार नगर्ने र विपक्षी मात्रै भइरहने हो भने बजारमा भएका झिल्केमिल्के भन्दा फरक नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘सरकारले गरेको राम्रो कामको पनि प्रचार गर्नुहोस, खबरदारीपनि गर्नुभयो भने राम्रो हुन्छ । ‘
पछिल्लो समयमा नकरात्मकतालाई मात्रै प्राथमिकता दिएर अघि बढ्ने प्रवृत्ति हाबी हुँदै गएको बताउँदै नकरात्मक कामलाई निरुत्साहन गर्नुपर्ने बताउनुभयो ।
उहाँले आगामी प्रदेश सभाको अधिवेशनमा सञ्चार विधेयक पेश गर्ने जानकारी दिँदै पत्रकारहरुसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताउनुभयो । कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले समाजमा निराशा उत्पन्न गराएर मुलुकलाई भड्खालोमा हाल्ने प्रवृत्तिका विरुद्ध पत्रकारहरु उभिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्रीहरु उपेन्द्र घिमिरे, समशेर राई र विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भरत खड्काले प्रद्धिवद्धता व्यक्त गर्नुभएको थियो भने पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेशका पूर्वअध्यक्ष विक्रम लुइटेल, मोरङकी अध्यक्ष सुशिला पाठक, समाजवादी प्रेस संगठनका कोशी प्रदेश अध्यक्ष बन्धु पोखरेल, प्रेस सेन्टरका प्रदेश अध्यक्ष विनोद घिमिरे, प्रेस युनियनका प्रदेश अध्यक्ष मिनकुमार नवोदित, निर्वतमान अध्यक्ष लीलावल्लभ घिमिरे, निवर्तमान महासचिव विवेक गौतम, निर्वाचन समितिका संयोजक यज्ञ शर्मा लगायतले बोल्नुभएको थियो ।