झिलझिले/ झापाको शिवसताक्षीमा पर्यावरण तथा पर्यटन प्रवर्द्धन गर्न ‘प्रथम शिवसताक्षी रन २०८१’ प्रतियोगिता हुने पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
पर्यावरण तथा पर्यटन प्रवर्द्धनका लागि काम गर्दै आएको सामाजिक संस्था फेस नेपालको कार्यालय झिलझिलेमा पत्रकार सम्मेलन गर्दै सम्पूर्ण कार्यक्रमहरु सार्वजनिक गरेको हो । कार्यक्रममा फेस नेपालका अध्यक्ष कविराज चाम्लिङ राईले रनको सम्पूर्ण तयारीमा संस्था लागेको बताए । उनले प्रथम ऐतिहासिक शिवसताक्षी रन २०८१ रहेकोले सबैबाट सकारात्मक सहयोगको अपेक्षा गरेका छन् । अध्यक्ष राईले जानकारी दिए अनुसार दौडमा झापा, मोरंग, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका एक हजार बढी धावकहरु सहभागी हुने बताएका छन् । उनका अनुसार जुनियरतर्फ ३००, खुल्लातर्फ ५०० र भेट्रानतर्फ २०० धावकहरु रहने बताएका छन् । जसअनुसार एकै दिन भित्र जुनियर, भेट्रान धावकहरुको झिलझिलेदेखि सतासीधामको दिगम्बेश्वर मन्दिरसम्म ५ किलोमिटरको दौड हुनेछ भने खुल्लातर्फ कन्काई नदीको पुलदेखि सतासीधामको दिगम्बेश्वर मन्दिरसम्म १० किलोमिटरको दौड रहनेछ । यो शिवसताक्षी झापाको ऐतिहासिक दौड रहनेछ । धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ गराइने दौडको मुख्य लक्ष्य भनेको वातावरणीय पर्यावरणीय उन्नयन हो ।
पछिल्लो समयमा जलवायु परिवर्तनले भूगोल आक्रान्त भैरहेको बेला पर्यावरणलाई सन्तुलनमा ल्याउन फेस नेपालले लामो समयदेखि अभियान सञ्चालन गर्दै झापाका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा मौसम अनुसारको फुल्ने विभिन्न प्रजातिको वृक्षारोपण गर्दै आइरहेको छ ।
फेस नेपालका महासचिव सन्तोषकुमार थेगिमले जानकारी दिए अनुसार ऐतिहासिक दौडमा सहभागी विजेताहरुलाई खुल्लातर्फ प्रथम हुनेलाई नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने दोस्रो, तेस्रो र सान्त्वना स्थान विजेतालाई क्रमशः १० हजार, ७ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गर्ने बताएका छन् । त्यसैगरी भेट्रान धावकतर्फ प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । त्यसैगरी जुनियर धावकतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई ५ हजार, ३ हजार र २ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने बताएका छन् ।
खेलकुदले ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई उजागर गर्दै खेलकुदमा लागे मात्र लागु औषध दुर्व्यसनबाट बच्ने सम्भावनालाई मध्यनजर गर्दै पर्यावरणसँगै दुर्व्यसनलाई समेत न्यूनीकरण गर्ने खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै आउने फेस नेपालका उपाध्यक्ष मोहन तामाङले बताए ।

विगत २ वर्षदेखि धार्मिक तथा पर्यटकीय स्थल सतासीधाम जाने सडकको आसपासमा गरिएको वृक्षारोपण र संरक्षण गर्ने ध्येयका साथ यो कार्यक्रम गर्न लागिएको हो ।
जसअनुसार फेस नेपालले ७ हजार भन्दा बढी विभिन्न मौसममा फुल्ने विरेन्द्र फूल, ज्याकाराण्डा, गोल्डमोर, रातो निलो गुलाबी कल्की, आँप, लिची, कटहर, रुद्राक्ष, लहरे बर–पिपल लगायतका विरुवाहरु रोपण गरिसकेको छ । उक्त फूलहरु संरक्षण गरिएर फुलेमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्न सक्ने फेस नेपालका सदस्य विजु मुखियाले बताए ।
दौडको सम्पूर्ण तयारीको लागि फेस नेपाल लागिपरेको र प्रत्येक धावकहरुलाई पर्यावरण तथा पर्यटन प्रवर्द्धन प्रथम शिवसताक्षी रन–२०८१ लेखिएको टिसर्ट वितरण गरिने अध्यक्ष कविराज राईको भनाइ रहेको छ ।
पत्रकार सम्मेलनमै समाजसेवी दुर्गा नेम्बाङलाई सम्मानसमेत गरिएको थियो । सम्मान ग्रहण गर्दै नेम्बाङले जलवायु परिवर्तनका कारण पर्यावरणमा ह्रास आउँदै गरेकोले दौड प्रतियोगिताले सबैमा सकारात्मक सन्देश जाने बताए ।
उनले फेस नेपालले धार्मिक पर्यटकीय क्षेत्र सतासीधाममा विभिन्न प्रजातिका शिरीषको रुख रोपिएको र निकट भविष्यमा यो क्षेत्र आन्तरिक तथा वाह्य पर्यटकको आकर्षक गन्तव्य स्थान हुने बताए ।