कमल । आषाढ शुक्लपक्षको पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ । आफ्ना प्रथम गुरुहरू मातापिता, गायत्रीमन्त्र दिने गुरु, दीक्षामन्त्र दिने गुरु, वेदादिको शास्त्र पढाई यो लोक र परलोकको सही शिक्षा दिने गुरु र आफूले पढेका विद्यालय विश्वविद्यालयका सम्पूर्ण गुरुहरूलाई नमन र पूजन का साथै कृतज्ञता ज्ञापन गर्दै आशीर्वाद लिने मुख्य पर्वका रूपमा गुरुपूर्णिमा मनाइन्छ ।
हिन्दु धर्मशास्त्रहरूमा माता, पिता र ज्ञानदाता गुरुको तुलनामा अन्य पूज्य कोही हुँदैनन् भनी उल्लेख गरिएको छ । यसैगरी महिलाहरूका लागि माता, पिता र पति मुख्य गुरु हुन् भनी समेत बताइएको छ ।
गुरु शब्द दुई वटा अक्षर मिलेर बनेको छ । ’गु’ को अर्थ अन्धकार र ’रु’ को अर्थ हो– प्रकाश , त्यसैले अँध्यारो बाट प्रकाश तर्फ लाने मुख्य व्यक्ति भनेकै गुरु भएकोले समेत आज गुरुलाई विशेष सम्झिदै मनाउने गरिन्छ ।
त्यसैले आषाढ शुक्लपक्षको पूर्णिमालाई नेपाल भारत लगाएर विश्वभरका हिन्दु धर्मसम्बन्धी समुदायहरूमा महत्वपूर्ण पर्वको रुपमा मनाउने गरिन्छ ।
यसक्रममा आज पतञ्जलि योग समिति झापाले विभिन्न कार्यक्रम गरेर गुरुपूर्णिमा मनाएको छ ।
समितिले आज बिहान जिल्लाभरिका एक सय भन्दा बढी योग सेन्टरमा नियमित कक्षा सञ्चालन गर्नुका साथै हवन तथा गुरुलाई सम्मान गरेर गुरु पूर्णिमा मनाएको पतञ्जलि योग समिति झापाका अध्यक्ष देवी प्रसाद घिमिरेले बताउनुभयो ।
गुरु बिनाको जीवन सफल हुँदैन हाम्रो जीवनको पहिलो गुरु भनेको बुबाआमा र त्यस पछि शिक्षादीक्षा दिने गुरु भएकोले वहाँहरूलाई सम्मान गर्ने विशेष दिन भनेकै गुरुपूर्णिमा । आज हामी गुरुकै आशीर्वादले अवस्थामा आइपुगेका छौ त्यसैले सबैले गुरुलाई सम्मान गर्नु पर्ने पतञ्जलि योग समिति कोशी प्रदेशका महामन्त्री लक्ष्मी प्रसाद काफ्लेले बताउनु भयो ।
पतञ्जलि योग कमल गाउँ समितिले समेत दैनिक योग अभ्यास गर्नुका साथै गुरुलाई सम्मान र हवन र नृत्य गर्दै गुरु पूर्णिमा मनाएको समितिका अध्यक्ष त्रिलोचन गौतमले बताउनु भयो ।