logo
शुक्रबार, साउन २९ २०८३

वडा सचिव कुटपिट प्रकरणमा पक्राउ परेका व्यक्तिहरुको रिहाइको माग


  • कुइनेटो न्युज
  • मंगलबार, जेष्ठ २२ २०८१

धरमपुर/ सत्यतथ्य घटनालाई ढाकछोप गरी विषयलाई अतिरञ्जित बनाएको भन्दै आरोपी परिवारले हिरासत रहेका व्यक्तिहरुको रिहाइको माग गरेका छन् ।
शिवसताक्षी नगरपालिका वडा नं. १ को कार्यालयमा गत जेठ १६ गते जन्मदर्ता सच्याउन गएका घनश्याम बजगाई र सोमनाथ बजगाईको वडा सचिव नन्दिकेशर भट्टराईबीच भएको घट्नालाई लिएर पहुँचको भरमा विभिन्न सञ्चार माध्यममा विषयलाई अतिरञ्जित गरेको भन्दै बजगाई परिवारले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका दुवै जनालाई रिहाइको माग गरेका छन् ।
 सोमनाथ बजगाईको छोराको जन्मदर्तामा आमाको माइतीको थर संशोधन गर्न आवश्यक कागजातसहित कार्यालयमा जाँदा वडा सविच नन्दिकेशर भट्टराईले कहिले सर्जमिन गर्नुपर्छ, कहिले क्यान्टिनमा कुरा गरौं भनेको भाइ लक्ष्मीप्रसाद बजगाईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङले सर्जमिन गर्न आवश्यक नभएको भन्दा पनि सचिवले काम गर्न नमानेको, क्यान्टिनमा गएर कुरा गर्दा खर्चपानीको व्यवस्था भए काम गर्न तयार भएको, सेवाग्राहीलाई निकृष्ट शब्द प्रहार गरेको, गाली बेइजती गरेकाले आत्मसम्मानमा ठेस पुगेको कारण ढकेलाढकेलसम्म भएको भनी विज्ञप्तिमा लेखिएको छ ।
विज्ञप्तिमा भनिएको छ, घट्नाको वास्तविक तथ्य नबुझी प्रेस विज्ञप्ति जारी गर्ने कर्मचारी संगठन, केही जनप्रतिनिधिको निर्देशनमा सेवा लिन गएका सेवाग्राहीलाई कार्यालयबाटै पक्राउ गरी हिरासतमा राख्नु खेदजनक छ । खेती लगाउने व्यस्त समयमा काम गर्न नपाई परिवार नै विचल्लीमा हुने देखिएकोले रिहाइको माग गर्दछु, विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच परिवारका सदस्य रिहाइको लागि वडा नं. १ को कार्यालयमा ध्यानाकर्षण पत्रसमेत चढाई त्यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय झापा, शिवसताक्षी नगरपालिकाको कार्यालय ब्याङडाँडा र इलाका प्रहरी कार्यालय झिलझिलेमा दिइएको परिवार स्रोतले जनाएका छन् ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend