झापा । सशस्त्र प्रहरी बल नेपाल, पाथीभरा जवान तालिम शिक्षालयमा आज एक कार्यक्रमका बिच सशस्त्र प्रहरी जवानलाई दीक्षित गरिएको छ ।
पाथीभरा जवान तालिम शिक्षालय द्वारा सञ्चालित सि.सं. २३९ सशस्त्र प्रहरी जवान आधारभूत तालिमको अन्तिम दीक्षान्त कवाज समारोहका बिच सशस्त्र प्रहरी जवानलाई दीक्षित गरिएको हो ।
समारोहमा ११ महिनाको तालिम पूरा गरेका १ सय १७ जना सशस्त्र प्रहरी जवान दीक्षित हुनुभएको सशस्त्र प्रहरी बल नेपाल, पाथीभरा जवान तालिम शिक्षालयका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक समादेशक समिक कुमार महर्जनले बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, कार्य विभागका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री गणेशबहादुर थाडामगरको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा झापा तथा मोरङ्ग स्थानिय तहका प्रमुख तथा उपप्रमुख झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल ,नेपाली सेना २१ नम्बर बाहिनीका बाहिनीपति, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनीका बाहिनीपति लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
२०८२ साल मङ्सिर १९ गतेदेखि सुरु भएको तालिममा प्रशिक्षार्थीहरूले सैनिक अनुशासन, कवाज, शारीरिक अभ्यास तथा सुरक्षा र उद्धारसम्बन्धी आवश्यक ज्ञान, सीप र दक्षता हासिल गर्नु भएको छ ।
दीक्षान्त समारोहमा प्रशिक्षार्थी जवानहरूले आकर्षक कवाज प्रदर्शन गर्नु भएको थियो । दीक्षित जवानहरूले दीक्षित भएपछी सशस्त्र प्रहरी बल नेपालको जिम्मेवारीमा रही राष्ट्र र नागरिकको सेवा गर्नुहुनेछ ।