कमल । झापाको कमल गाउँपालिकामा एक दिने कर शिक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ ।
कमल उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय दमकको प्राविधिक सहयोगमा गाउँपालिकाको वडा नम्बर ३ केर्खा स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको सभाहलमा तालिम सम्पन्न भएको हो ।
पहिलो चरणमा गाउँपालिकाको तत्कालिन तोपगाछी खण्डका व्यवसायी तथा उद्योगीलाई लक्षित गर्दै एकदिने कर शिक्षा सम्बन्धी तालिम सन्चालन गरिएको संघले जनाएको छ ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख सूर्यबहादुर कुँवरले व्यवसाय सञ्चालन गर्दा करसम्बन्धी कानुनी प्रावधान, करदाता दर्ता, कर विवरण बुझाउने प्रक्रिया तथा कर प्रणालीमा देखिएका व्यवहारिक विषयबारे जानकारी गराउनुभएको थियो । उहाँले व्यवसायीले करलाई दायित्वका रूपमा मात्र नभई राज्य सञ्चालनको महत्वपूर्ण आधारका रूपमा बुझ्नुपर्ने बताउनुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि कमल गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारी न्यौपानेले स्थानीय तहमा व्यवसाय प्रवद्र्धन र आर्थिक गतिविधि विस्तारका लागि व्यवसायीलाई करसम्बन्धी स्पष्ट जानकारी आवश्यक रहेको बताउनुभयो । त्यसैगरी उहाँले स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउँदै उद्यम तथा व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कमल उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र अधिकारीले कर शिक्षा सम्बन्धी तालिमले व्यवसायीमा करसम्बन्धी ज्ञान र व्यवहारिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले व्यवसायीका समस्या समाधानका लागि संघले सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
तालिममा समभागी व्यवसायी तथा उद्योगीलाई कर अधिकृत प्रेम प्रकाश मण्डलले व्यवसाय दर्ता, करसम्बन्धी प्रक्रिया, विवरण पेस गर्ने तरिका तथा व्यवसाय सञ्चालनमा आवश्यक कर अनुशासनबारे सहभागीलाई जानकारी गराउनु भएको थियो ।

संघका संस्थापक अध्यक्ष उमानाथ भण्डारीले कार्यक्रमको स्वागत गर्दै तालिमको उद्देश्य व्यवसायीलाई करसम्बन्धी आधारभूत तथा व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको बताउनुभयो । त्यस्तै उहाँले कर प्रणालीबारे पर्याप्त जानकारीको अभावका कारण व्यवसायीले अनावश्यक झन्झट तथा समस्या व्यहोर्नुपर्ने अवस्था रहेकाले यस्ता कार्यक्रम नियमित हुनुपर्ने धारणा समेत राख्नुभयो ।
कार्यक्रममा कमल ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईराला, प्याब्सन कोशी प्रदेश सचिव गौरीमान फागोले बर्तमान करसम्बन्धी कानुनी प्रावधान झन्झटिलो भएकाले त्यसैलाई सहज बनाउनु पर्नेमा कार्यलयलाई सुझाव दिनु भएको थियो ।
कार्यक्रमको सञ्चालन संघका सदस्य रिजु कार्कीले गर्नुभएको थियो ।