कमल । धार्मिक तथा सांस्कृतिक गतिविधि मार्फत समुदायमा आपसी सद्भाव, एकता र सकारात्मक संस्कार प्रवद्र्धन गर्दै आएको सिंहदेवी मन्दिर व्यवस्थापन समिती र सिंहदेवी भजन किर्तन मण्डलीको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कमल गाउँपालिका ३ स्थित सिंहदेवी मन्दिर व्यवस्थापन समिती अध्यक्ष धनराज गिरीको अध्यक्षतामा सम्पन्न मन्दिर व्यवस्थापन समिती र सिंहदेवी भजन किर्तन मण्डलीको आज संयुक्त रुपमा आयोजित साधारण सभाको उद्घाटन कमल गाउँपालिका ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोइरालाले गर्नु भएको थियो ।
सभाको उद्घाटन पछि शुभकामना मन्तव्य व्यक्त गर्दै भजन–कीर्तनले धार्मिक आस्था मात्रै नभई समाजमा आपसी भाइचारा, सद्भाव र एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने वडा अध्यक्ष कोईरालाले बताउनु भयो ।

त्यसैगरी आधुनिकताको प्रभावसँगै मौलिक धर्म, संस्कार र संस्कृति कमजोर हुँदै गएको अवस्थामा यस्ता मण्डली तथा धार्मिक संस्थाले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै सामाजिक सेवाका क्षेत्रमा समेत मण्डलीले आफ्नो भूमिका विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । समुदायमा सकारात्मक सोच र सहकार्यको वातावरण निर्माण गर्न यस्ता संस्थाको योगदान महत्वपूर्ण हुने समेत अध्यक्ष कोईरालाले बताउनु भयो ।
साधारण सभामा मन्दिर व्यवस्थापन समितीका अध्यक्ष धनराज गिरी र किर्तन मण्डलीका अध्यक्ष डम्बर बहादुर थापाले वर्षभरि सञ्चालन गरेका विभिन्न धार्मिक तथा सामाजिक गतिविधि, संस्थागत प्रगति, सदस्यहरूको सहभागिता तथा आगामी योजनाका विषयमा तयार पारिएको प्रतिवेदन प्रस्तुत छुट्टाछुट्टै रुपमा प्रस्तुत गर्नुभएको थियो ।
यस्तै, मन्दिर व्यवस्थापन समितीका सचिव पुन्य प्रसाद पोख्रेल आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्थाको आर्थिक अवस्था, आम्दानी तथा खर्चलगायतका विवरण सभामा प्रस्तुत गर्दै आर्थिक पारदर्शिता र संस्थागत अनुशासनलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
कार्यक्रममा प्रहरी चौकी केर्खाका ईन्चार्ज टिका प्रसाद पराजुली, लक्ष्मी नारायण भजन किर्तन मण्डलीका अध्यक्ष लोकनाथ भण्डारी पाथिभरा भजन किर्तन मण्डली तर्फ बाट मुक्तिनाथ काफ्ले ,जग्गादाता सोमनाथ चापागाई, तथा छिमेकी भजन किर्तन मण्डलीका अध्यक्ष तथा प्रतिनिधी,मण्डलीका पदाधिकारी,सदस्य, स्थानीय नागरिक तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले धार्मिक तथा सांस्कृतिक संस्थाले समाजमा सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै मण्डलीका आगामी कार्यक्रमलाई सफल बनाउन सामूहिक सहयोग र सहकार्य आवश्यक रहेको धारणा राख्नु भएको थियो ।
१५ औं वार्षिक साधारण सभाले मन्दिर व्यवस्थापन र मण्डलीको विगतको कार्यसम्पादनको समीक्षा गर्दै आगामी दिनमा धार्मिक जागरण, भजन–कीर्तन, सामाजिक सेवा, सांस्कृतिक संरक्षण र समुदायमा आपसी सद्भाव अभिवृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता सहित कार्यक्रम सम्पन्न भएको थियो ।
मन्दिर व्यवस्थापन समितिकी उपाध्यक्ष निर्मला नेपालले शब्द द्वारा स्वागत गर्नु भएको थियो भने कार्यक्रम सिंहदेवी मन्दिर व्यवस्थापन समितीका अक्षयकोष उपसमिती सचिव कमल सिवाकोटीले सन्चालन गर्नु भएको थियो ।