कमल। झापाको कमल गाउँ पालिकामा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई कुष्ठरोग सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेको छ ।
गाउँपालिकाको आयोजनामा तथा नेपाल लेप्रोसी फाउन्डेसन (एनएलएफ) को समन्वयमा कमल गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका निजी फार्मेसी, क्लिनिक तथा अस्पतालका प्रतिनिधिहरूका लागि कुष्ठरोग सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हाे ।
कुष्ठरोगको समयमै पहिचान, उचित उपचार तथा समुदायस्तरमा रोगबारे रहेको भ्रम र विभेद न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा निजी स्वास्थ्य क्षेत्रमा कार्यरत प्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूलाई कुष्ठरोगको अवस्था, पहिचान, उपचार तथा आवश्यक रेफरल प्रक्रियाका विषयमा जानकारी प्रदान गरिएको थियो।
कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले नेपाल लेप्रोसी फाउन्डेसनले कुष्ठरोग नियन्त्रण तथा प्रभावित व्यक्तिहरूको जीवनस्तर सुधारका क्षेत्रमा गर्दै आएको कार्यको प्रशंसा गर्नुभयो। उहाँले कुष्ठरोगप्रति अझै पनि समाजमा रहेका भ्रम, डर र विभेद अन्त्य गर्न सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।
स्थानीय सरकार, स्वास्थ्य संस्था, निजी क्षेत्र तथा सामाजिक संघसंस्थाहरूको संयुक्त प्रयासबाट कुष्ठरोगको समयमै पहिचान र उपचारलाई थप प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै कमल गाउँपालिका स्वास्थ्य क्षेत्रमा गुणस्तरीय र पहुँचयोग्य सेवा विस्तारका लागि निरन्तर प्रतिबद्ध रहेको समेत अध्यक्ष राईले बताउनुभयो।।
कार्यक्रममा नेपाल लेप्रोसी फाउन्डेसन (एनएलएफ) का कार्यक्रम अधिकृत डी.भी. गुरुङले संस्थाको परिचय, कार्यक्रमको उद्देश्य तथा एनएलएफले कमल गाउँपालिका क्षेत्रमा सञ्चालन गर्दै आएका विभिन्न कुष्ठरोग नियन्त्रण तथा रोकथामसम्बन्धी कार्यक्रमहरूको बारेमा जानकारी गराउनुभएको थियो।
त्यसैगरी, कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहालले कुष्ठरोग सम्बन्धी विस्तृत प्रस्तुतीकरण गर्दै रोगको समयमै पहिचान र उपचारले कुष्ठरोगबाट हुने अपाङ्गता रोक्न सकिने बताउनुभयो। उहाँले कुष्ठरोगका शंकास्पद बिरामी पहिचान भएमा समयमै स्वास्थ्य संस्थामा पठाउन तथा उपचार प्रक्रियामा सहयोग गर्न निजी स्वास्थ्य संस्था, फार्मेसी र क्लिनिकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावती, कमल गाउँपालिका अपाङ्गता समन्वय समितिका पदाधिकारीहरू, निजी फार्मेसी, क्लिनिक तथाअस्पतालका प्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू तथा शान्त जीवन रिहाबिलिटेसन सेन्टरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अभिमुखीकरण कार्यक्रमले निजी स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी तथा प्रतिनिधिहरूको कुष्ठरोग सम्बन्धी ज्ञान र क्षमता अभिवृद्धि हुनुका साथै समुदायमा कुष्ठरोगको समयमै पहिचान र उपचारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।