कमल । झापाको कमल गाउँपालिका २ स्थित श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा आईतवार देखि राष्ट्रिय सेवा दल (एनसीसी) अन्तर्गत सि.सं. २१ सिनियर डिभिजन एनसीसी तालिम औपचारिक रूपमा सुरु भएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अनुशासन, नेतृत्व क्षमता, राष्ट्रप्रेम, सामाजिक उत्तरदायित्व तथा विपद् व्यवस्थापन लगायतका विषयमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन हुन लागेको तालिमको प्रथम प्रवचन कार्यक्रम अरिदमन गण चारआलीका गणपती प्रमुख सेनानी सरोज थापाले गर्नु भएको थियो ।
विद्यालयमा आयोजित प्रथम प्रवचन कार्यक्रममा एनसीसी तालिमको उद्देश्य, महत्व तथा विद्यार्थीले तालिम अवधिमा पालना गर्नुपर्ने अनुशासन र आचारसंहिता का साथै तालिममा सहभागी विद्यार्थीलाई एनसीसी केवल सैन्य अभ्यासमा सीमित कार्यक्रम नभई व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, आत्मनिर्भरता, सामाजिक सेवा र राष्ट्रप्रतिको जिम्मेवारीबोध विकास गर्ने महत्वपूर्ण माध्यम भएको समेत प्रमुख सेनानी थापाले बताउनु भयो ।
विद्यालयमा सञ्चालन हुने सि.सं.२१ सिनियर डिभिजन एनसीसी तालिममा कक्षा ११ र १२ मा अध्यायनरत ३० जना छात्र–छात्रा सहभागी रहने छन् । विद्यार्थीलाई नियमित शैक्षिक अध्यापनसँगै अनुशासित र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको र तालिममा उतकृष्ट हुने विध्यार्थिलाई उचित सम्मानका साथै छात्रवृत्ती समेत उपलब्ध गराईने विध्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहालले बताउनु भयो ।

चालुआर्थिक वर्षमा झापा जिल्लामा राष्ट्रिय सेवा दलकोको तालिम सन्चालनकालागी ८ वटा विद्यालय छनौट भएका छन् । छनौट भएका विध्यालयहरु मध्ये कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा सिनियर डिभिजन र अन्य ७ वटा विध्यालयमा जुनियर डिभिजनको तालीम सन्चालन हुने जनाईएको छ । तालिममा विध्यालयमा २ सय ८० जना विद्यार्थी सहभागी रहने छन् ।
राष्ट्रिय सेवा दलको कार्यक्रम अन्तर्गत हाल नेपालका ७७ वटै जिल्लामा गरी २ सय ५७ विद्यालयमा एनसीसी तालिम सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षमा राष्ट्रिय सेवा दल मार्फत तालिम गराउने योजना अनुसार सि.सं. २१ सिनियर डिभिजन तालिमका लागि ३६ वटा विद्यालय तथा सि.सं. ५२ जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिमका लागि २ सय २१ वटा विद्यालय छनौट भएको समेत जनाईएको छ ।
विद्यालय परिवारले एनसीसी तालिमलाई विद्यार्थीको शैक्षिक तथा व्यवहारिक विकासका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अनुशासित, सक्षम, जिम्मेवार र राष्ट्रप्रति समर्पित नागरिक बनाउन एनसीसी कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।
राष्ट्रिय सेवा दलको उद्देश्य अनुरूप विद्यार्थीमा अनुशासन, नेतृत्व, सेवा र राष्ट्रप्रतिको समर्पण विकास गर्न यो कार्यक्रम बहु उपयोगी हुने विश्वास गरिएको छ ।
विध्यालय व्यवस्थापन समितका अध्यक्ष कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा , अरिदमन गण चारआलीका सह सेनानी श्याम कुमार गिरी, कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, एनसीसी अल्मुनेसन निर्देशक सुमिरन दुलाल, विध्यालय व्यवस्थापन समितिका सदस्य , शिक्षक कर्मचारी लगाएको उपस्थित रहेको थियो ।
कार्यक्रम विध्यालयका शिक्षक याम नारायण प्रधानले सन्चालन गर्नु भएको थियो ।