मध्यपूर्वमा महायुद्धको खतरा बढ्दै गएको छ। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमन सरकार र साउदी अरब समर्थित यमन सेना इरानका प्रमुख सहयोगी ‘हूती समूह’लाई कमजोर पार्न सक्रिय भएका छन्।
‘अलजजिरा’ले यमन सेनाले जारी गरेको आधिकारिक विज्ञप्तिलाई उद्धृत गर्दै पछिल्लो २४ घण्टामा हूती लडाकुहरू विरुद्ध १३३ वटा सैन्य अभियान सञ्चालन गरिएको जनाएको छ।
ती अभियानमा रकेट प्रक्षेपक, तोपखाना तथा ड्रोनको प्रयोग गरिएको बताइएको छ।
हूतीले पनि गर्यो जवाफी कारबाही
यमन सेनाले यी हमलाको उद्देश्य कुनै पनि हालतमा हूतीहरूको सैन्य क्षमता र लडाकुहरूलाई कमजोर पार्नु रहेको स्पष्ट पारेको छ। यमन सेनाको कारबाहीपछि हूतीले पनि जवाफी हमला गरेको बताइएको छ।
त्यसपछि यमन सरकारको राष्ट्रिय रक्षा परिषद्ले सोमबार बैठक गरेको थियो। बैठकमा पछिल्लो स्थलगत अवस्थाको समीक्षा गरिएको थियो।
परिषद्को बैठकमा हूती समूहका ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन हमलाबाट विस्थापित परिवारका शिविरसमेत प्रभावित भएको विषयमा छलफल गरिएको बताइएको छ। ती हमलामा कैयौँ सर्वसाधारण मारिएको जनाइएको छ।
हमलाको दायरा बढाउने आदेश
यमन सेनाका अनुसार पछिल्ला घटनामा धेरै महिला र बालबालिकाले ज्यान गुमाएका छन्। यस क्रममा राष्ट्रिय रक्षा परिषद्ले यमन सेनाको प्रशंसा गर्दै उसले विभिन्न हमला विफल पारेको र हूतीहरूलाई ठूलो क्षति पुर्याएको जनाएको छ।
परिषद्ले अब हवाई तथा क्षेप्यास्त्र हमलाको दायरा बढाउन आदेश दिएको छ। परिषद्ले जवाफी कारबाहीमा अझ कडा रणनीति अपनाइने स्पष्ट गरेको छ। साथै, भएको क्षतिको शीघ्र मूल्याङ्कन गर्न तथा घाइतेहरूको उपचार र मारिएका सैनिकका परिवारको हेरचाह गर्न आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

यमन सेनाले आफूहरूले हूतीहरूलाई ठूलो धक्का दिएको दाबी गरेको छ। अर्कोतर्फ, हूतीहरूको हमलाका कारण सर्वसाधारणको ज्यान गइरहेको छ। विस्थापित परिवारहरू पहिले नै कठिन परिस्थितिमा छन्। नयाँ हमलाले उनीहरूको समस्या झनै बढाएको छ। रक्षा परिषद्ले जवाफी कारबाहीमा कुनै नरम नीति नअपनाइने स्पष्ट रूपमा जनाएको छ।
शान्तिको आशामाथि खतरा
हूती समूह सन् २०१४ देखि यमनको राजधानी सना र उत्तर यमनको ठूलो भूभागमा नियन्त्रण कायम गर्दै आएको छ। हूतीहरूले साउदी अरबमाथि सीमापार हमला बढाउनुका साथै लाल सागरमा आवतजावत गर्ने जहाजहरूलाई समेत निशाना बनाउँदै आएका छन्।
संयुक्त राष्ट्रसंघको पहलमा यमनमा युद्धविरामका लागि प्रयास भइरहेको थियो। केही समययता तुलनात्मक रूपमा शान्त अवस्था बनेको र वार्ताको सम्भावनासमेत देखिएको थियो। तर पछिल्लो समय हिंसा बढ्दै गएपछि कायम भएको शान्ति भंग हुने खतरा बढेको छ।
दशकौँदेखि जारी यमन द्वन्द्व पुनः तीव्र रूपमा भड्किन सक्ने चिन्ता बढेको छ। यमनमा बढ्दो सैन्य गतिविधिले स्थानीय द्वन्द्वलाई मात्र होइन, मध्यपूर्वको समग्र सुरक्षा अवस्थालाई समेत थप जटिल बनाउन सक्ने देखिएको छ।