कमल। झापाकाे कमल नगर अस्पतालमा हप्ताको दुई दिन भिडियो एक्स–रे (USG) सेवा सञ्चालन हुने भएको छ।
कमल गाउँपालिका अध्यक्ष तथा कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुम सिंह राईको पहलमा भएको सम्झौता अनुसार अस्पतालमा हरेक सोमबार र बिहीबार विशेषज्ञ रेडियोलोजिष्ट बाट भिडियो एक्स–रे (USG) सेवा सञ्चालन हुने भएको अस्पतालमा प्रसाशनले जनाएको छ ।
सेवा सञ्चालनका लागि २०८३ श्रावण २० गते आम्दा मेची अस्पतालका रेडियोलोजिष्ट डा. देवकृष्ण यादवसँग सम्झौता गरिएको हो।
सम्झाैता अनुसार सेवा २०८३ साल श्रावण २५ गते सोमबार देखि औपचारिक रूपमा सुरु हुने जनाइएको छ।
विशेषज्ञ रेडियोलोजिष्ट बाट नियमित सेवा उपलब्ध भएपछि गर्भवती महिला तथा अन्य बिरामीलाई भिडियो एक्स–रेका लागि अन्यत्र जानुपर्ने बाध्यता न्युनिकरण हुनुका साथै स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर मिल्ने स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले बताउनु भयाे ।
आज भएको सम्झौता कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, रेडियोलोजिष्ट डा. देवकृष्ण यादव, प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल, कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलकचन्द्र लावती तथा अस्पताल प्रमुख कुशल श्रेष्ठको उपस्थिति रहेको थियो।
स्वास्थ्य सेवामा निरन्तर विस्तार
अध्यक्ष हुकुम सिंह राईको पहलमा कमल नगर अस्पताललेपछिल्लो समय विभिन्न विशेषज्ञ तथा विशिष्ट स्वास्थ्य सेवाहरू विस्तार गर्दै आएको छ। अस्पतालमा यसअघि दमकअस्पताल एण्ड रिसर्च सेन्टरबाट दन्त सेवा, मेची आँखा अस्पतालबाट दैनिक आँखा सेवा तथा विराट टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरबाट मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको छ।
यससँगै अब विशेषज्ञ रेडियोलोजिष्टबाट भिडियो एक्स–रे सेवा पनि थपिएपछि कमल नगर अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाको दायरा अझ फराकिलो भएको छ।
स्वास्थ्य सेवामा भइरहेको निरन्तर विस्तारले कमलवासीलाई सामान्य उपचारदेखि विशेषज्ञ सेवासम्म क्रमशः आफ्नै स्थानीय अस्पतालबाट प्राप्त गर्ने वातावरण बन्दै गएको छ।