कमल / झापाकाे कमल गाउँपालिका ७ रंगपुरमा प्रयोगशाला (ल्याब) को औपचारिक शुभारम्भ गरिएको छ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सन्चालनमा आएको ल्यावकाे आज एक अैापचारीक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले रिबन काटेर ल्याब सेवाको उद्घाटन गर्नुभएको हाे ।

दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय प्रयोगशाला सेवा घरआँगनमै उपलब्ध गराउने उद्देश्यले ल्याब सेवा विस्तार गरिएको अध्यक्ष राईले बताउनुभयो।
आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट टिटानसविरुद्धको खोप सेवा नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिँदै आगामी दिनमा आवश्यकता र स्रोतका आधारमा थप स्वास्थ्य सेवाहरू विस्तार गरिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो।

ल्उयाव द्घाटनपछि अध्यक्ष राईले प्रयोगशालामा जडान गरिएका उपकरण, सामग्री तथा रसायनहरूको निरीक्षण गर्दै सेवाको गुणस्तर र प्रभावकारिताबारे जानकारी लिनुभएको थियो।
कार्यकममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावतीले गाउँपालिकाभित्र रहेका अन्य आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा समेत क्रमशः ल्याब सेवा विस्तार गरे सबै वडाका नागरिकलाई सहज पहुँचमा प्रयोगशाला सेवा उपलब्ध गराएमा सहज सेवा उपलब्ध हुने बताउनुभयो।
कार्यक्रममा कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले ल्याब सेवा विस्तार कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रम सञ्चालन आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल ७ का प्रमुख अमृत सुब्बाले गर्नुभएको थियो।

ल्याब असिस्टेन्ट गीता न्यौपानेले अब यस स्वास्थ्य सेवा केन्द्रबाट रगत, पिसाब (युरिन), दिसा (स्टुल),सुगर जाँच, परीक्षणका साथै गर्भवती महिलाका आवश्यक प्रयोगशाला परीक्षणहरू नियमित रूपमा सञ्चालन हुने जानकारी दिनुभयो।
ल्याब सेवा शुभारम्भसँगै आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावतीले बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गर्नुभएको थियो। शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका स्थानीय सेवाग्राहीले सेवा लिई लाभान्वित भएका थिए।
कमल ७ का वडा अध्यक्ष तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पृथ्वीपति राईले ल्याब सेवा विस्तारसँगै वडा नम्बर ७ का नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध भएको भन्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईप्रति आभार व्यक्त गर्नुभयो।
ल्याब सेवा सञ्चालनमा आएपछि कमल७ तथा आसपासका बासिन्दाले सामान्य प्रयोगशाला परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। यस सेवाले समयमै रोग पहिचान, उपचार तथा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका पदाधिकारी, विद्यालय नर्स तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। ल्याब सेवा शुभारम्भपछि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो।