logo
मंगलबार, कार्तिक ११ २०८३

नेपाली कम्युष्निट आन्दोलनको इतिहांस र क.पुष्पलाल


  • कुइनेटो न्युज
  • बिहिबार, साउन ७ २०८३

आज साउन ७, अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी एवम् हामी सबैका र नेपाली जनताका अत्यन्तै आदरणीय नेता पुष्पलालको ४८औं स्मृती दिवसमा उहाँप्रति श्रद्दासुमन गर्न आदरभाव प्रकट गर्न, उहाँका योगदानको चर्चा गर्न, उहाँले नेपाली समाजमा रुपान्तरणका निम्ति पुर्याउनु भएको योगदानको स्मरण र मुल्याङ्कन गर्न उहाँका महान शिक्षाबाट प्रेरणा लिएर नेपाली समाजलाई अझ अगाडि बढाउने र ‘’समृद्द नेपाल सुखि नेपाली’’ को गन्तब्यमा पुर्याउने संकल्पका साथ सर्बप्रथम उहाँप्रति भावपुर्ण श्रद्दाजली अर्पण गर्न चाहान्छु ।

पुष्पलालको सामान्य जीवनी
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिब कमरेड पुष्पलालको जन्म हालको रामेछाप जिल्ला भंगेरीमा १९८१ असार १५ गते माता तुल्सीमायां श्रेष्ठ र पिता भक्तलाल श्रेष्ठका माईला सन्ंतानका रुपमा भएको थियो । कमरेड पुष्पलाल नेपाली प्रजातान्त्रिक आन्दोलनका संस्थापक नेता एवं शहिद गंगालालका भाइ हुनुहुन्थ्यो । गंगालालको अगुवाईमा काठमाडौंमा महाविर पाठशालाको स्थापना भएको थियो ।

त्यसै पाठशालाबाट पुष्पलालले प्रारम्भिक शिक्षा प्राप्त गर्नुभएको थियो । पछि पाटन हाइ स्कूलबाट प्रवेशिका उत्तीर्ण गर्नुभएको थियो । पुष्पलालले उच्च शिक्षा भारतको बनारसबाट अध्ययन गर्नुभएको थियो । पुष्पलालले आइएसम्मको औपचारिक शिक्षा हासिल गर्न पाउनुभएको थियो । पुष्पलालको विवाह २०१० मा कमरेड साहना प्रधानसँग भएको थियो । कमरेड साहना पनि नेकपाको नेता हुनुहुन्थ्यो । पुष्पलालका एक छोरा र एक छोरी हुनुहुन्छ ।
चेतना जागरण
पुष्पलालको जन्म भने बिसं १९८१ असार १५ गते बुबा जागीरमा भएको बेला रामेछापको भंगेरी गाउँमा भएको थियो । पुष्पलालको बाल्यकाल र किशोरावस्था काठमाडौंमा बित्यो। राणाहरूको कठोर निगरानीमा चल्ने दरबार हाइस्कुलबाट उनले एसएलसी उत्तीर्ण गरे। तिनताका राणाशासकहरुको ज्याजतिको बारेमा मानिसहरु कुरा गर्थे । खरिदारको जागीरमा रहदा राणाहरुवीच भएका द्वन्दहरु र चाकरीहरुबारे बुबाले यदाकदा घरमा चर्चा गर्दा र दाजु गंगालालले न्याय अन्यायको कुरा गर्दा पुष्पलालको चेतना जागृत हुदै थियो । आफु भन्दा ६ वर्ष जेठा दाजु गंगालाल सामाजिक जागरणमा लागि सकेका थिए ।
राणासाही निरंकुशता अन्त्य हुनु पर्ने र सबैलाई न्याय हुनु पर्ने भन्दै नेपाल प्रजा परिषदमा गंगालाल लागेका थिए । बिसं १९९७ मा दाजु गंगालाललाई राणा शासकले गोली हानी हत्या गरे पछि पुष्पलालको कलिलो मस्तिष्कमा गहिरो चोट पर्यो । भरखरै म्याट्रिक पास गरेका पुष्पलाल दाजुको हत्याको एक दिन अगाडि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस् भन्नुभएको थियो र दाजुको यही शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बन्यो ।

दाजुले राणाहरु सामु माफी मागे ज्यान सजाय मिनाहा गर्ने भन्दा गंगालालले दासत्व भन्दा स्वाधिनता प्यारो हुने भन्दै सहिद हुन मन्जुर गरे । दाजुको यो बलिदानलाई खेरजान दिनु हुदैन भन्ने दृढ अठोट मनमा राख्दै राणा शासनको अन्त्य र नागरिक अधिकारको लागि संगठित हुन पर्छ भन्ने चेतना पुष्पलालमा जागृत भयो ।
पुष्पलाल कहिल्यै पछाडि नफर्कने गरी संगठितरुपमा नागरिक आन्दोलनमा होमिए । पुष्पलाल राणाविरोधी संगठित आन्दोलन उत्कर्षमा पुग्दै गरेका बेला राजनीतिमा लागेका थिए । उनलाई राजनीतिमा होमिन पारिवारिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरणले मद्दत गर्यो ।
संगठित जीवन
केटाकेटी देखि नै दृढ इच्छा शक्ति राख्ने पुष्पलाल आफ्ना दाजुको प्रेरणाबाट सुरुमा नेपाल प्रजा परिषदमा आबध्द भएका थिए । यहि समयमा प्रजापरिषदको प्रकाशन जनता प्रकाशित गर्न पुष्पलालले मद्दत गरेका थिए । राणा शासनलाई हठाउन संगठितरुपमा प्रयत्न गर्नु पर्छ भन्दै पुष्पलालले साथिहरु जम्मा गरी बिसं १९९८ मा नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए । यो संगठनले आफ्नो रगतले प्रतिज्ञापत्रमा सहिगरी सदस्य बनाएको थियो । बिसं १९९९ मा पुष्पलालले अखिल नेपाल वर्गसभा स्थापना गरी गणतन्त्र नेपालको उद्घोष गरेका थिए । तीव्र परिवर्तनको आकांक्षाले डोर्याएर उनलाई नेपाल राष्ट्रिय कांग्रेस (पछि नेपाली कांग्रेस बन्यो) को सदस्य बन्न प्रेरित गर्यो ।

त्यति बेला उनलाई कांग्रेसले राणा शासन ढाल्न सक्छ भन्ने लागेको थियो । २० वर्षको उमेरमा उनी नेपाली राष्ट्रिय कांग्रेसमा आबध्द भैसकेका थिए । सो पार्टीले काठमाण्डौमा २००४ बैशाष १ देखि नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलालले गरे । यो आन्दोलनको कारणले तत्कालिन राणा प्रधानमन्त्री पद्म शमशेरले सामाजिक सुधारका कामहरु घोषणा गरेका थिए । यो घटनाबाट संगठित प्रयत्नबाट शासकहरुलाई झुकाउन सकिन्छ भन्ने विश्वास पुष्पलालमा जागृत भयो । बिसं २००४ सालको चैत्रमा भएको पार्टीको तेस्रो सम्मेलनमा काठमाडौंका प्रतिनिधि बनेर वनारस गए, जहाँ डिल्लीरमण रेग्मीसँग उनको पहिलोपटक भेट भयो।

सोही समयमा डिल्लीराज रेग्मीले नेतृत्व गरेको नेपाली राष्ट्रिय कांग्रेसमा लागि सकृय राजनीति गर्न लाग्नुभयो । पुष्पलाल नेपाली राष्ट्रिय कांग्रेसको बनारसस्थित कार्यलयमा सचिव भएर काम गर्न लाग्नुभयो । त्यतिबेला बीपी काठमाडौंमा जेलजीवन बिताइरहेकाले उनको अनुपस्थितिमा सभापति पदमा रेग्मी चुनिए ।

भारतमा स्वतन्त्रता संग्राम चलिरहेको थियो । उक्त संग्राममा नेपाली राष्ट्रिय कांग्रसले पनि सहभागिता जनाएको थियो । भारतीय नेताहरुसँग पनि पुष्पलाललगायतका नेपाली नेताहरुको सम्पर्क सम्बन्ध बनिरहेको थियो । खासगरी भारतीय समाजवादी दलका नेता जयप्रकाश नारायणन नेपाली राष्ट्रिय कांग्रसेका नेताहरुसँग नजिक थिए । नेपाली राष्ट्रिय कांग्रेसका प्राय सबै कार्यक्रममा उनी आउँथे । जयप्रकाश अली सामन्ती स्वभावका थिए । उनको व्यबहार कमरेड पुष्पलाललाई मन पर्दैन्थ्यो । उता डिल्लीरमण रेग्मी र वी.पी कोइरालाका बीचमा पनि चरम बिवाद भइरहेको थियो । पुष्पलालले दुई नेताका बीचको बिबाद मिलाउन दबाब दिन केन्द्रिय कार्यालयमा अनसनसमेत बस्नु भएको थियो तर उनीरुका बिचको बिवाद झन चर्कदै गयो ।

कमरेड पुष्पलाल निराश भएर बनारसबाट कलकत्तातिर लाग्नुभयो । कमरेड पुष्पलाललाई नेताहरुको ब्यवहार, नेपाली राष्ट्रिय कांग्रेसको श्रमजीवी जनता प्रतिको उदासिनता र अर्कातिर अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको प्रभावले बिस्तारै कम्युनिष्ट आन्दोलनप्रति आकर्षित गरिरहेको थियो । कमरेड पुष्पलालबाट नेपाल कम्युनिष्ट पार्टीको स्थापना बिसं २००४ सालमा कमरेड पुष्पलाल कलकत्ता जानुभयो । कलकत्तामा माक्र्सवादी साहित्यको अध्ययन गर्न लाग्नुभयो । बिसं २००५ मा कमरेड पुष्पलालले माक्र्स–एंगेल्सद्धारा प्रतिपादित कम्युष्निट घोषणापत्रलाई नेपालीमा उल्था गर्नुभयो ।

यी दिनहरुमा भारत प्रवासमा रहेका नेपाली युवा बिद्यार्थीहरुका बीच माक्र्सवादी अध्ययन मण्डलको स्थापना गरी कम्युनिष्ट आन्दोलन, नीति, सिद्धान्तका बारेमा समहगत अध्ययन शुरु गरिएको थियो । कमरेड पुष्पलाल, मनमोहन अधिकारी, डी.पी अधिकारी, केशरजंग रायमाझी, नरबहादुर कर्मचार्य, निरन्जन गोबिन्द बैद्य, नारायाण बिलाश जोशी लगायतका युवाहरु माक्र्सवादी सिद्धान्तको अध्ययनमा लागेका थिए ।

कमरेड पुष्पलालले विश्व कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुबाद गरेपछि नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नका लागी आवश्यक सल्लाह गरिरहनुभएको थियो । भारतीय कम्युनिष्ट पार्टीका नेता नृपेन्द्र चक्रवर्तीसँगको अन्तिम सल्लाहपछि उहाँकै प्रेर णामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना बिसं २००६ बैशाख १० अर्थात २२ अप्रेल १९४९ का दिन लेनिन जयन्तिको अबसरमा गरिएको थियो ।
कमरेड पुष्पलालको मुख्य अगुवाईमा अन्य चारजना नरबहादुर कर्मचार्य, निरन्जन गोबिन्द बैद्य, नारायण बिलाश जोशी र मोतिदेबीको सहभगीतामा कलकत्तााको नविन सरकारलेन स्थित एक जना बंगालीको घरमा नेकपाको स्थापना गरियो ।
कमरेड पुष्पलालको वैचारिक योगदान
कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका एक जना सिद्धान्तकार हुनुहुन्थ्यो । कमरेड पुष्पलालले नै विश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्रको पहिलोपटक नेपालीमा अनुबाद गर्नुभएको थियो । त्यसैको आधरमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र पनि सन १९४९ सेप्टेम्बर १५ मा कमरेड पुष्पलालले नै लेख्नुभएको थियो । यो घोषणापत्र नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो आधारपत्र हो ।
कमरेड पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलनमा बिचार निर्माणमा सबैभन्दा महत्वपूर्ण योगदान दिनुभएको छ । कमरेड पुष्पलालले नै नेपालमा कम्युनिष्ट आन्दोलनको प्रारम्भ गर्नुभयो । बिसं २००६ सालदेखि २०३५ साउन ७ सम्म नेपाल कम्युनिष्ट पार्टीको आन्दोलनको अगुवाइ गरिरहनु भयो । करीव २९ वर्षको लामो राजनीतिक जीवन यात्रामा अत्यन्तै दूरदर्शी बिचारहरु अगाडी सार्नुभयो । खासगरी कम्युनिष्ट पार्टीको रणनीतिअनुसारको कार्यनीति निर्माणमा कमरेड पुष्पलालको अद्धितीय योगदान छ । नेपालमा सामन्ती शासन अन्त्य गरी जनवाद, समाजवादहुंदै साम्यवादमा पुग्ने स्पष्ट सिद्धान्त कमरेड पुष्पलालले अघि सार्नुभएको हो ।
मुख्य शत्रुका बिरुद्धमा गौण शत्रुहरुलाई पनि साथमा लिएर अगाडि बढ्नुपर्ने सिद्धान्त अगाडि सार्दा तत्कालीन परिस्थतिमा उग्रबामपन्थी कोणबाट निकै धेरै प्रहार भएको थियो । तत्कालिन नेकपा चौमका तर्फबाट गद्धार पुष्पलाल भनेर घोषणा गरिएको थियो । यद्यपि पछि त्यो निर्णय गलत थियो भनेर गद्धार घोषणा गर्ने पार्टी र नेताले आत्माालोचना गरिसकेका छन् । कमरेड पुष्पलाललाई दक्षिणपन्थी कोणबाट पनि जीवनभर आक्रमण भइरह्यो ।
कमरेड पुष्पलाल सधैभरि लेनिनवादी संगठन पद्धतीलाई कडाईका साथ पालन गर्नुपर्नेमा जोड दिनुहुन्थ्यो । हरेक निर्णयहरु गर्दा जनबादी केन्द्रियताका आधारमा गर्ने अर्थात घुँडा धसेर छलफल गर्ने तर निर्णय भएपछि त्यसलाई कडाइका साथ आत्मसाथ गर्नेमा जोड दिनुहुन्थ्यो । नेपालको कम्युनिष्ट आन्दोलनको स्थापना गरेपछि त्यसलाई बिकाश गर्न र लक्षमा पुग्नका लागी कमरेड पुष्पलालले ‘३ स’ नीति सार्नुभएको थियो । सिद्धान्त, संगठन र संघर्ष यी तीन महत्वपूर्ण नीतिका आधारमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बडाउनुपर्नेमा कमरेड पुष्पलालको जोड थियो ।
कमरेड पुष्पलालले कम्युनिष्ट पार्टीमा नेता प्रदान नभई नीति प्रदान हुनुपर्नेमा जोड दिनुभएको थियो । कम्युनिष्ट पार्टीलाई साँचो अर्थमा द्धन्द्धात्मक भौतिकवादी रुपमा अगाडि बढाउन र कार्लमाक्सले प्रतिपादन गरेको सिद्धान्तका आधारमा अगाडि बढाउन दत्तचित्त भई जीवन पर्यन्त अगाडि बढिरहनु भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्दै साँचो अर्थमा जनताको जीवनसँग गाँसेर लक्ष्यउन्मुख बनाउनमा कमरेड पुष्पलालको महत्वपूर्ण योगदान छ । कमरेड पुष्पलाललाई नेपाली कम्युष्निट आन्दोलनको इतिहांसबाट अलग राख्दा कम्युष्निट आन्दोलनको परिकल्पना नै गर्न सकिंदैन ।
वास्तवमा,पुष्पलाल बाम प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष मात्र नभै मार्क्सवादी इतिहासकार सिद्धान्तकार र रणनीतिज्ञ पनि थिए । साथै, नेपाली समाजको सर्वप्रथम वैज्ञानिक विश्लेषण गर्ने सिध्दहस्त विश्लेषक पनि थिए ।

राजनीतिक अभियानमा जुटिरहेका सबैको निम्ति पुष्पलालका विचार, दृष्टिकोण र जीवनशैली अनुकरणीय छन् । नेपाली समाजको रुपान्तरणको लागि सबै नेता र कार्यकर्ताहरुले आफ्ना निहित स्वार्थहरु र कुण्ठाहरुलाई पन्छाउदै धैर्यता, सहनशीलता, परिपक्कता र निरन्तरता राखेर क्रियाशील हुन सके साँचो अर्थमा पुष्पलालको सपनालाई मूर्तरुप दिन सकेमात्र जननेता पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।  लेखक : गिरेन्द्र चम्लागाई

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend