झापा/ जिल्ला अदालत झापाले चालू आर्थिक वर्ष २०८२/०८३ मा ७ हजार ५ सय ४९ वटा मुद्दा मध्ये ४ हजार ५ सय ३५ वटा मुद्दा फछ्र्यौट गरेको छ।
फर्छौट भएको ४ हजार ५ सय ३५ मध्ये न्यायाधीश पारसमणि पोखरेलको इजलासबाट ६ सय २७ थान फैसला भएको हुंदा ०८२/०८३ सालमा उत्कृष्ठ कार्यसम्पादन गरेको भनि न्यायाधीश पोखरेललाइ सम्मानित गरिएको थियो।
जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेलले चालु आव २०८२/८३ मा गत आ.व.बाट जिम्मेवारी सरी आएका ३ हजार २ सय ३२ र चालु आ.व.मा दर्ता भएका ४ हजार ३सय १७ समेत गरी ७ हजार ५ सय ४९थान मुद्दामा ४ हजार ५ सय ३५ फछर्यौट भई ३ हजार १४ मुद्दाको निर्णय हुन बाँकी रही ६५ प्रतिशत फर्छौट गर्ने लक्ष्य रहेकोमा ६०.०२ प्रतिशत फर्छौट भएको जानकारी दिए।
उनले गत बर्षको भाद्र २३ र २४ को आन्दोलनको प्रभाव, सोबाट अदालतको सूचना प्रणाली (CMS) मा अवरुद्ध, संघीय संसदको निर्वाचन आदी कारणले पनि ६०दशमलव २ प्रतिशत फर्छौट भएकोमा न्यायाधीश र कर्मचारीलाई धन्यवाद दिनुभयाे ।
प्रमुख न्यायाधीश लुईटेलले छिटो छरितो र गुणस्तरीय न्याय प्रदानगर्ने लक्ष्यका साथ २०६१ साल देखी रणनीतिक योजना कार्यान्वयनमा आएकोमा हाल पाँचौ रणनीतिक योजना कार्यान्वयनमा रहेको छ भने झापा जिल्ला अदालतले निष्पक्ष, छिटोछरितो, सरल न्यायसम्पादनमा जोड दिने, मेलमिलाप पद्धतिलाई बढी अवलम्बन गर्ने एवं अदालतप्रति जनआस्था अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेको हुँदा निष्पक्ष र प्रभावकारी न्यायसम्पादनको लागी आगामी दिनमा समेत सरोकारवालाहरुको समन्वय र सहयोगको अदालतले अपेक्षा गरेको बताए ।
त्यस्तैगरी अदालतका श्रेस्तेदार उपसचिव डिल्लीराम प्रसाईले बढ्दो मुद्दाको चापका बाबजुद स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै छिटोछरितो, निष्पक्ष, जवाफदेही, पारदर्शी एवं प्रभावकारी ढंगबाट न्यायसम्पादन गरेको बताए ।

अदालतले राखेको सम्मान तथा फेरि भेटौला कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश प्रसाद पोखरेल, जिल्ला सरकारी वकील कार्यालय झापाका प्रमुख जिल्ला न्यायाधिवक्ता दिपेश प्रताप शाह, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का समेतको उपस्थिति रहेको थियो।
प्रशासन शाखाका अनुसार झापा जिल्ला अदालतमा ९ जना न्यायाधीशको दरबन्दी रहेको छ । हालै न्याय परिषदले झापा जिल्ला अदालतबाट प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेललाई काठमाडौं जिल्ला अदालत, न्यायाधीश महेन्द्रप्रसाद पोखरेललाई पर्सा जिल्ला अदालत र न्यायाधीश ऋतबहादुर पुलामी मगरलाई सिराहा जिल्ला अदालतमा सरूवा गरेकोले विदाई कार्यक्रम समेत गरिएको थियो भने प्रमुख न्यायाधीशमा प्रकाश राउतलाई पठाएको छ र अन्य न्यायाधीशमा टेकनाथ गौतम र पुन्य प्रसाद सापकोटालाई पठाएको छ।

न्यायलयबाट हुने सेवाप्रवाहलाई छिटोछरितो, सरल र पारदर्शि बनाउन अदालतले मुद्दाको प्रकृती अनुसार फरक मुद्दा ब्यबस्थापनअन्तर्गत सरल, सामान्य र बिशेष मार्ग समूहमा बर्गिकरण गरी स्वचालित पेशी, ईजलास छनौटमा गोला प्रथा, अनलाइन सुनुवाई, अनलाईन तारेखको प्रयोग गरेको छ भने मुद्दाको कामकारवाही लगायत फैसला समेत वेवसाईडबाट हेर्न सकिने भनी अदालतका शाखा अधिकृत एवं सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिनु भएको छ।