कमल । झापाकाे कमल गाउँपालिका हात्तीपाइले रोग विरुद्ध सञ्चालन गरिएको आम औषधि सेवन अभियान पश्चात् गरिने IDA Impact Survey-I (IIS-I) लाई प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले कमल गाउँपालिकामा वडा स्तरीय समन्वय बैठक सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय झापाको समन्वय, फेयरमेड साहारा नेपाल को सहयोगमा मिति २०८३ असार ३२ गते कमल गाउँपालिकाका वडा नं. २, ४ र ५ मा क्रमशः समन्वय बैठक सम्पन्न भएको हो। बैठकमा वडा अध्यक्ष, वडा सदस्य, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, सुरक्षा निकायका प्रतिनिधि, वडा सचिव तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका कार्यक्रम फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक विष्णनाथ श्रेष्ठले IDA Impact Survey-I को उद्देश्य, कार्यविधि, नमुना संकलन प्रक्रिया तथा स्थानीय तहको भूमिकाबारे प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो।
स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले समन्वय बैठक सम्पन्न भएसँगै सम्बन्धित वडाहरूमा सर्वेक्षण टोली परिचालन भई IDA Impact Survey-I सञ्चालन हुने जानकारी दिनुभयो। उहाँले सबै सरोकारवाला निकाय र समुदायलाई सर्वेक्षण सफल बनाउन आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो।
कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले हात्तीपाइले रोग उन्मूलन राष्ट्रिय अभियानलाई सफल बनाउन स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै भन्नुभयो, “हात्तीपाइले रोगमुक्त समाज निर्माणका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षा निकाय तथा सम्पूर्ण समुदाय एकजुट भएर अघि बढ्नुपर्छ। IDA Impact Survey-I ले अभियानको प्रभावकारिता मूल्याङ्कन गर्ने भएकाले सबैले जिम्मेवारीपूर्वक सहयोग गर्न आवश्यक छ। कमल गाउँपालिका स्वास्थ्यका हरेक अभियानलाई सफल बनाउन सधैं प्रतिबद्ध छ।”
आज २०८३ साउन १ गते कमल गाउँपालिकाको वडा नं. ६ र ७ मा समेत समन्वय बैठक तथा सर्वेक्षणपूर्व तयारी कार्यक्रम सञ्चालन गरिनेछ स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले बताउनु भयाे ।
हात्तीपाइले रोग उन्मूलन अभियानलाई सफल बनाउन सबै सरोकारवाला तथा आम नागरिकको सक्रिय सहभागिता र सहयोगका लागि गाउँपालिकाले हार्दिक अनुरोध गरेको छ।