logo
शुक्रबार, साउन २९ २०८३

झापामा कालाजार बिरामीको घरदैलोमै परीक्षण

जिल्लामा अनुगमन तथा सुपरिवेक्षण अभियान सञ्चालन


  • कुइनेटो न्युज
  • शनिबार, असार २० २०८३

झापा। कालाजार रोग नियन्त्रण तथा बिरामीको स्वास्थ्य अवस्थाको प्रभावकारी अनुगमन गर्ने उद्देश्यले झापा जिल्लाका विभिन्न स्थानीय तहमा कालाजार बिरामीहरूको घरदैलोमै पुगेर परीक्षण, अनुगमन तथा सुपरिवेक्षण कार्यक्रम सञ्चालन गरिएको छ।

स्वास्थ्य कार्यालय झापाका क्षयरोग तथा कुष्ठरोग फोकल पर्सन बिरेन्द्र दासको नेतृत्वमा सञ्चालित स्वास्थ्यकर्मी टोलीले बिरामीको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै रोगका कारण हुन सक्ने जटिलता (Complications), उपचारपछिको स्वास्थ्य अवस्था, आवश्यक सावधानी, औषधि सेवनको निरन्तरता तथा नियमित फलोअपका विषयमा बिरामी र परिवारका सदस्यसँग विस्तृत छलफल तथा स्वास्थ्य परामर्श प्रदान गरेको थियो।

कन्काई नगरपालिकामा सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका क्षयरोग तथा कुष्ठरोग फोकल पर्सन बिरेन्द्र दास, स्वास्थ्य शाखा प्रमुख नारायण अधिकारी, कन्काई अस्पतालकाजनस्वास्थ्य निरीक्षक पवन पोखरेल, स्थानीय स्वास्थ्यकर्मीहरू तथा कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहालसहितको स्वास्थ्यकर्मी टोली सहभागी रहेको थियो।

त्यसैगरी अर्जुनधारा नगरपालिका–११ मा पनि कालाजार बिरामीको घरमै पुगेर स्वास्थ्य परीक्षण तथा अनुगमन गरिएको थियो। उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका क्षयरोग तथा कुष्ठरोग फोकल पर्सन बिरेन्द्र दास, अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र कुइकेल, ए.एन.एम. सीता राय तथा कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहालसहितको टोलीले बिरामीको स्वास्थ्य अवस्था मूल्याङ्कन गर्दै आवश्यक स्वास्थ्य परामर्श प्रदान गरेको थियो।

स्वास्थ्य कार्यालय झापाका अनुसार यो कार्यक्रम असार २० गते (शनिबार) सम्म झापा जिल्लाका कालाजार बिरामी रहेका विभिन्न स्थानीय तहमा सञ्चालन हुनेछ। घरदैलोमै पुगेर गरिने यस्तो अनुगमनले बिरामीको वास्तविक स्वास्थ्य अवस्था मूल्याङ्कन गर्न, उपचारको प्रभावकारिता सुनिश्चित गर्न, समयमै आवश्यक परामर्श उपलब्ध गराउन तथा परिवारका सदस्यहरूलाई रोगबारे सचेत बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यस अवसरमा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले बिरामीको घरमै पुगेर गरिने परीक्षण, अनुगमन तथा सुपरिवेक्षणले बिरामी र परिवारसँग प्रत्यक्ष स्वास्थ्य छलफल गर्ने अवसर सिर्जना गर्नुका साथै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता घरदैलो स्वास्थ्य कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको पहुँचसम्म पुर्‍याउन थप प्रभावकारी भूमिका खेल्ने बताउनुभयो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend