logo
शुक्रबार, साउन २९ २०८३

जातिय विभेद , छुवाछुत उन्मुलन एवं दलितका अधिकार सम्बन्धी अन्तरक्रिया


  • कुइनेटो न्युज
  • सोमबार, असार ८ २०८३

खाेटाङ। जातिय विभेद र छुवाछुत उन्मुलन एवं दलितका अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

खोटाङकाे  जन्तेढुंगा गाउँपालिका  ५ स्थित चिसापानी नमुना माध्यमिक विद्यालयकाे सभाहलमा जातिय विभेद र छुवाछुत उन्मुलन एवं दलितका अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको  हाे ।

जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणा देवी राईको प्रमुख आतिथ्यता तथा पालिका उपाध्यक्ष खेमबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईं, कार्यपालिका सदस्य तारा कोईराला, ध्रुव बिश्वकर्मा वडा महिला सदस्य गिता परिवार,विद्यालयका प्रधानाध्यापक रामबहादुर राउत समेतको आतिथ्यतामा कार्यक्रम भएको थियो।

जातिय विभेदमा परेका र पारिएका दलित समुदाय र गैरदलित समुदायका बीचमा जातिय विभेद र छुवाछूत हटाई समतामूलक समाज निर्माण गर्न विद्यालयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो भनी जन्तेढुंगा गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

उहाँले नयाँ मुलुकी ऐन, २०२० ले छुवाछुत उन्मुलन गरेको र नेपालको संविधानको धारा ४० ले दलितको हक स्थापित भएको साथै हरेक बर्ष जेठ २१ गते जातिय विभेद र छुवाछुत उन्मुलन दिवस मनाउने गरिएको भए तापनि समाजमा जातिय विभेद र छुवाछुत हट्न सकेको नदेखिँदा पालिकाले जनचेतना बढाउन यस्ता कार्यक्रम आयोजना गरिएको हो भनि बताउनु भएको छ।

उहाँले मानिस भएर जन्म कै आधारमा श्रम गर्नेलाई सार्वजनिक स्थल, मन्दिर, धारा पधेरा एवं अन्तरजातीय विवाह आदिमा भेदभाव गरिए दण्ड सजाय हुने हुँदा सो बारे कानूनी ज्ञान दिन विद्यालयका विद्यार्थीहरु माझ चेतनामूलक कार्यक्रम राखेको भनी बताउनुभयो।

यस कार्यक्रमले समाजमा सदियौं देखि जरा गाडेर रहेको जातिय विभेदलाई अन्त्य गर्न सघाउ पुग्ने भनि पालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताउनुभयो। त्यस्तैगरी दलितका हक र अधिकार बारे जानकारी भए राज्यका हरेक निकायमा दलितको प्रतिनिधित्व बढ्ने छ भनी प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईंले बताउनुभयो।

जन्तेढुंगा गाउँपालिकाको आर्थिक सहयोग र महिला एकता अध्ययन केन्द्र खोटाङको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता महिला एकता अध्ययन केन्द्र खोटाङकी अध्यक्ष दुर्गा जयन्ती राईले र स्वागत मन्तव्य महिला तथा बालबालिका शाखा प्रमुख जेनिसा तिम्सिनाले गर्नु भएको थियो।

जन्तेढुंगा गाउँपालिका वडा नं ५ का जनप्रतिनिधि, समाजसेवी, चिसापानी विद्यालयका शिक्षक र विद्यार्थी लगायत ६० जना भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको सो अन्तरक्रिया कार्यक्रमको सहजीकरण अधिवक्ता सानु कार्की बस्नेतले गर्नुभएको थियो।


साथै स्थानीय स्तरमा जातिय विभेद र छुवाछुत उन्मुलन गर्न जन्तेढुंगा गाउँपालिकाको काउले र डम्बरसु मा समेत अन्तरक्रिया कार्यक्रम गरिने भनी आयोजकले जनाएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend