चुलाचुली / इलामको चुलाचुली गाउँपालिका १ स्थित कमल सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय युवा क्लबलाई खेलकुद सामग्री सहयोग गरेको छ।
चुलाचुली ३ स्थित किराँतेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा जारी ‘चुलाचुली च्याम्पियन लिग’ को दोस्रो संस्करणको अवसर पारेर समूहले एच.के. डिफेन्डिङ स्पोर्टिङ्ग क्लबलाई करिब ३७ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको हो।
आज भएको एच.के. डिफेन्डिङ स्पोर्टिङ्ग क्लब र जनता फुटबल क्लब (वडा नं. ३) बीचको रोमाञ्चक खेलको प्रारममा एक विशेष कार्यक्रमका बीच उक्त सामग्रीहरू प्रदान गरिएको थियो।

सामग्री हस्तान्तरण गर्दै कमल सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष संगीता थलङले वन समूहको काम वन संरक्षण र सम्वर्द्धनमा मात्र सीमित नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले वनको सुरक्षासँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिएका छौं। युवाहरूमा खेलकुदप्रति ऊर्जा भर्न र उनीहरूको मनोबल उच्च राख्न यो सहयोग गरिएको हो।”
अध्यक्ष थलङले आगामी दिनहरूमा पनि संस्थाले विभिन्न सामाजिक गतिविधिहरूमा सक्रियता बढाउँदै ‘समाजको सारथी’ बन्ने लक्ष्य राखेको जानकारी दिनुभयो।
सोही अवसरमा उहाँले एच.के. डिफेन्डिङ स्पोर्टिङ्ग क्लबलाई जारी लिगको उपाधि जित्नका लागि अग्रिम शुभकामना समेत व्यक्त गर्नुभयो।
स्थानीय खेलप्रेमी र वन उपभोक्ताहरूले सामुदायिक वनको यो कदमलाई युवा र खेल क्षेत्रप्रतिको ठूलो सम्मान भन्दै प्रशंसा गरेका छन्।