रास्वपाले त ‘मिसन ८४’ नै घोषणा गरेको थियो । तर जेनजी आन्दोलनका कारण चुनाव २०८२ मै भयो । रास्वपा १८२ (दुई तिहाइ नजिक) सिट लिएर बिहीबार संसद् छिर्यो ।
तर, नागरिकता प्रकरणमा लामिछानेले सबै पद गुमाए । त्यसपछि सरकारबाट बाहिरिँदै अबको चुनावमा प्रधानमन्त्री हुनेगरी काम गर्ने घोषणा गरेका थिए ।
रास्वपाले त ‘मिसन ८४’ नै घोषणा गरेको थियो । तर, जेनजी आन्दोलनका कारण चुनाव २०८२ फागुन २१ मै भयो । रास्वपाले ८४ कुर्नै परेन । यो चुनावमा रास्वपा १८२ (दुई तिहाइ नजिक) सिट लिएर बिहीबार संसद् छिर्यो । र, सांसदले शपथ खाए ।
सभापति लामिछाने आफैं प्रधानमन्त्री त बन्ने छैनन् । तर उनले भनेझैं दुई तिहाइको नजिकसहित सरकारको नेतृत्व गर्ने तहमा भने रास्वपा पुग्यो ।
२०७९ असारमा स्थापना भएको रास्वपाले साढे ३ वर्षको अवधिमा अभूतपूर्व मत ल्याउन कस्तो क्याम्पेन चलायो ? जसका कारण कांग्रेस, एमाले, नेकपा जस्ता पुराना दल बढारिन पुगे ?
एक पटक रास्वपालाई फर्किएर हेरौं ।
२०७९ मा जन्मिएको पार्टी हो रास्वपा । सुरुमै पार्टीको नाम र चुनाव चिह्न (घण्टी) माथि कानुनी अवरोध सिर्जना आयो । सभापति लामिछानेले अभिमुखीकरण कार्यक्रममा आफ्ना सांसदहरूलाई पार्टीमाथि सुरुदेखि नै आक्रमण भएको र यहाँसम्म जोगाएर ल्याएको सुनाए ।
‘यो पार्टी जन्मेदेखि नै प्रहार भयो । पार्टीको नाममा मुद्दा चल्यो । यसलाई जन्मिँदै कुल्चिने कोसिस भयो । तर हामीले बचाउँदै ल्यायौँ । यो पार्टीको चुनाव चिह्नमाथि मुद्दा चल्यो । चिह्न नै भत्काइदिने गरी प्रहारहरू भए । स्थापित राजनीतिक दलहरू, विभिन्न स्वार्थ समूह र शक्ति समूहबाट जोगाएर ल्यायौँ,’ सभापति लामिछानेले भने ।
नयाँ पार्टी स्थापना गर्दैगर्दा आर्थिक र मानवीय स्रोत सीमित थियो । ७७ वटै जिल्लामा भौतिक रूपमा पुगेर अन्तर्राष्ट्रिय स्तरको प्रभावशाली चुनावी अभियान चलाउन अर्बौँ खर्च लाग्ने थियो । त्यसैले २०७९ को चुनावमा रास्वपा सबै ठाउँमा पुग्न सकेन । अझ प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवार नै पाएन । १११ क्षेत्रमा मात्र उम्मेदवार उठायो ।
‘जुन हाम्रो सामर्थ्यभन्दा बाहिरको कुरा थियो । त्यसैले हामीले उदाउँदो डिजिटल युगलाई अवसरका रूपमा लिएर सम्पूर्ण अभियानलाई डिजिटल डोमेनमा केन्द्रित गर्ने रणनीति बनायौँ,’ रास्वपाका सहमहामन्त्री विपिन आचार्य ती दिन स्मरण गर्छन् ।
रास्वपाले पार्टी घोषणाकै दिनदेखि फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम र वेबसाइट जस्ता सबै सामाजिक सञ्जालका खाता खोलेको थियो । डिजिटल प्लेटफर्ममार्फत जनतासँग गहिरो सम्बन्ध बनाउन सकिने निष्कर्षमा रास्वपा पुग्यो ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता ह्यासट्यागको अनिवार्य प्रयोगले सबै सामग्रीहरू डिजिटल प्लेटफर्ममा एउटै धागोमा जोडिए,’ आचार्य भन्छन्, ‘चिया पसलका दाजुभाइदेखि दिदीबहिनीका सामान्य प्रतिक्रियासम्मलाई कन्टेन्ट बनायौं । आम जनताले अभियानलाई आफ्नै जस्तो ठान्नुभयो ।’
रास्वपाले कन्टेन ‘बुस्ट’ नगर्ने नीति लियो । अर्गानिक कन्टेन उत्पादनमा जोड दियो । जुन मतदातासामु विश्वसनीय बन्यो । ‘पुराना दलहरूले डिजिटल माध्यमलाई हल्का रूपमा लिइरहँदा हामीले अभियानको मुख्य केन्द्र बनायौँ,’ आचार्य भन्छन् ।
अर्को मुख्य केन्द्रमा थियो सभापति लामिछानेको क्रेज । ‘सभापतिलाई देशका विभिन्न भागमा पुर्याउने र त्यहाँका गतिविधिहरूलाई दृश्य सामग्रीमार्फत नागरिकसँग जोड्ने काम गर्यौं,’ उनले भने, ‘कार्यक्रमहरूमा ड्रोन फुटेज, मोबाइल फ्ल्यासलाइट जस्ता साना तर प्रभावशाली प्रयोगले दृश्य सन्देशलाई अझ शक्तिशाली बनायो ।’
रातिको १ बजेसम्म सभापति लामिछानेले आफ्ना उम्मेदवारहरूको बारेमा भिडियो बनाएर प्रचार–प्रसार गरे । जसका कारण प्रत्यक्ष र समानुपातिक गरी २१ सिट जितेर रास्वपा संसद् पुगेको थियो ।
‘अघिल्लो चुनावमा हामीलाई २१ सिट होइन, एकै पटक दुई तिहाइ दिन सक्थे । अघिल्लो चुनावमा जनताले के भने भने– नयाँलाई एकपटक हेरौँ, ताकि यिनीहरू नमात्तिऊन् । त्यति मात्र सिट दिऊँ र पुरानाहरूलाई सच्चिने अवसर दिने गरी यिनीहरूलाई पनि निमिट्यान्न नपारौँ । नागरिकले विवेकपूर्ण ढङ्गले मतदान गरे,’ सभापति लामिछानेले भने ।
तर, रास्वपाले २०७९ को निर्वाचनपछि पनि डिजिटल सक्रियता रोकेन, संसद्मा उठाएका विषयलाई तुरुन्तै भिडियोमा रूपान्तरण गरेर सार्वजनिक गर्यो । नेता र सांसदहरूले आफ्ना सामाजिक सञ्जाल पेजलाई सूचना प्रवाहको विश्वसनीय माध्यम बनाए । ‘मोबाइल एपमार्फत ‘प्राइमरी इलेक्सन’ गराएर डिजिटल लोकतन्त्रको अभ्यास सुरु गरेको रास्वपाले पार्टीको मुख्य आधार डिजिटल डोमेनलाई बनायो,’ आचार्यले भने ।
२०७९ मा सुरु गरेको चुनावी क्याम्पेनको ढाँचा २०८२ सम्म आइपुग्दा राजनीतिक क्यानभासमा विस्तार भएको निष्कर्ष रास्वपाको छ । जसका कारण २१ बाट १८२ सिट पुग्यो । अघिल्लो चुनावमा उम्मेदवार नभेटेको रास्वपामा यसपटक कतिपयले टिकट नपाउने स्थिति बन्यो । २०८२ को चुनावमा रास्वपाको लहर आउनुको कारण एउटै छैन, धेरै विषय जोडिएका छन् ।
रवि–बालेन एकता र क्रेज
रास्वपा सभापति लामिछाने र तत्कालीन काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको सहकार्य २०८२ को क्याम्पेनमा थपियो । ‘यसले व्यक्तिगत प्रतिष्ठाभन्दा माथि उठेर देशका लागि एकजुट हुने सन्देश दियो । जसलाई जनताले उत्साहका साथ ग्रहण गरे,’ आचार्यले भने, ‘दुवैले व्यक्तिगत प्रतिष्ठा र राजनीतिक म्याजिक नम्बरको खेलभन्दा माथि उठेर एउटै छातामुनि आउने निर्णय गर्नुभयो ।’
समीकरण मिलाएर लामिछाने प्रधानमन्त्री बन्ने सम्भावना हुँदाहुँदै पनि उनले देश र नागरिक केन्द्रित राजनीति रोजेको निचोड रास्वपाको छ । र, लोकप्रियताको शिखरमा रहेका बालेन शाह जोडिएर रास्वपामा थप ऊर्जा थपियो ।
‘यी दुई प्रभावशाली व्यक्तित्वको संयोजनलाई जनताले स्वीकारे । यसले राजनीति व्यक्तिगत लाभका लागि होइन, देश निर्माणका लागि हो भन्ने सन्देश स्पष्ट रूपमा दिएको छ,’ आचार्यले भने, ‘भरोसा गरेका पात्रहरू देशका लागि एउटै मञ्चमा उभिनु २०८२ को निर्वाचनको सबैभन्दा शक्तिशाली पक्ष बन्यो । नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्यो ।’ बालेन रास्वपामा आएपछि मधेशमा रास्वापको थप उभार आएको निष्कर्ष नेताहरूको छ ।
जनता सन्देशवाहक
२०८२ को चुनावमा रवि–बालेनसँगै नागरिक आफैं अभियानका मुख्य वाहक बनेको बुझाइ रास्वपाको छ । ‘देश–विदेशमा रहेका नेपालीले सामाजिक सञ्जालमार्फत पार्टीका सन्देश घर–घरमा पुर्याए । कतिपय स्थानमा हामी पुग्नुअघि नै हाम्रो सन्देश त्यहाँ पुगिसकेको हुन्थ्यो,’ उनले भने, ‘विदेशमा रहेका छोरा वा श्रीमान्ले फोन गरेर भोट घण्टीमै भोट हाल्नु भनिसकेका हुन्थे ।’
यसपटक ‘चुपचाप घण्टीमा छाप’ भन्ने नारा घरघर पुग्यो । कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेशवादी दलका असन्तुष्ट पक्षको मत पनि घण्टीमै खस्यो ।
वार रुम
रास्वपाले चुनावी क्याम्पेन लक्षित ‘वार रुम’ सञ्चालन गर्यो । २४सै घण्टा रास्वपाको ‘वार रुम’ र वडा तहसम्म फैलिएको संगठनात्मक संरचना थप सशक्त बन्यो । प्रविधि र पारिवारिक सम्बन्धमार्फत रास्वपाको सन्देश भुइँतहसम्म पुग्यो । केन्द्रीय टोलीले डिजिटल कन्टेन्ट निर्माणमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को समेत प्रयोग गर्यो ।
‘वार–रुम’ मार्फत देशभरका उम्मेदवारलाई प्राविधिक सहयोग प्रदान गर्यो । १६३ उम्मेदवारका लागि भिडियो, प्रोफाइल र एआई प्रयोग गरेर चुनावी गीतहरू निर्माण गर्यो ।
पार्टीले उम्मेदवारलाई आर्थिक सहयोग गरेन तर कन्टेन्ट निर्माण केन्द्रबाट सहयोग गर्यो । ‘२०७९ मा ५/७ जानाको सानो आकारमा सुरु भएको यो संरचना यसपटक ५०/६० जनाको विज्ञ टोलीमा विस्तार भयो,’ संगठन विभागका सचिव शंकर श्रेष्ठले भने । सुरक्षा निकायका पूर्वअधिकारी, पूर्वकर्मचारी र विज्ञको टोलीसमेत केन्द्रमा रास्वपाले राखेको थियो ।
इन्टरनेट र बिजुलीको पहुँच कम भएका दुर्गम क्षेत्रमा भने रास्वपाले फरक रणनीति अपनायो । ‘प्रणाली बदल्न हामी जाँदैछौँ भन्ने इमानदार संवाद गर्यौँ,’ सहमहामन्त्री आचार्यले भने, ‘एउटा उम्मेदवारले सुरु गरेको राम्रो र नवीन अभ्यास अर्कोले पनि सहजै अपनायौं ।’
निर्वाचन आयोगको आचारसंहिता अनुसार भोट माग्ने समय सुरु नहुँदासम्म रास्वपाले मत मागेन । ‘त्यसको सट्टा, जनताको सुझाव संकलन गरेर तथ्यमा आधारित वाचापत्र तयार गर्यौँ,’ उनले भने, ‘जनताकै सहभागितामा तयार भएको उक्त वाचापत्रले नागरिकलाई अभियानमा प्रत्यक्ष अपनत्वको अनुभूति गरायो ।’
बिहानी हिँडाइ र फेसबुक लाइभमार्फत गरिएका प्रत्यक्ष संवादले राम्रो प्रभाव पार्यो । ‘कम खर्चिला तर प्रभावकारी यी अभियानहरूले परम्परागत हल्लाखल्लाभन्दा फरक सन्तुलित राजनीतिक संस्कारको परिचय दिए,’ आचार्यले भने, ‘चुनावी सभामा लामो भाषणको सट्टा छोटो र स्पष्ट कुरा राख्ने शैलीले पनि आकर्षणमा रह्यो । रास्वपाले भाषणभन्दा काम माग्यो ।’
वाचापत्र र नागरिक करार
नागरिकसँग सुझाव संकलन गरेर रास्वपाले वाचापत्र तयार पार्यो । ‘वाचापत्र परम्परागत ‘ब्ल्याक एन्ड ह्वाइट’ दस्तावेजमा मात्र सीमित रहेन । कतिपय उम्मेदवारले यसलाई भिडियोका रूपमा त कतिपयले आकर्षक डिजाइनमा प्रस्तुत गर्नुभयो,’ आचार्यले भने ।
नागरिक करारको अवधारणामार्फत जनतासमक्ष स्पष्ट रूपमा प्रस्तुत गरिएकाले उभार आएको निचोड रास्वपाको छ । डिजिटल माध्यमको प्रयोग महत्त्वपूर्ण भए पनि चुनावी परिणाम ल्याउने मुख्य काम उम्मेदवारहरूले फिल्डमै खटिनु पनि हो ।
‘घरदैलो, प्रत्यक्ष संवाद र स्थानीय तहको सक्रियताले नै निर्णायक भूमिका खेलेको देखिन्छ,’ महामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘केन्द्रीय कार्यालयले केही सामग्री र समन्वय उपलब्ध गराए पनि चुनाव जिताउने आधार स्थानीय स्तरको मिहिनेत नै रह्यो ।’
बालेनलाई भावी प्रधानमन्त्रीको घोषणा
रास्वपा भावी प्रधानमन्त्रीमा बालेन शाहलाई अगाडि सारेर चुनावमा होमियो । पूर्वदेखि पश्चिमसम्म सभापति लामिछाने र वरिष्ठ नेता बालेन शाहको यात्रा मतदाताको मन र मस्तिष्कमा बस्न सफल भएको निचोड रास्वपाको छ ।
‘सभापतिले प्रधानमन्त्रीका लागि बालेन्द्र शाहलाई प्रस्ताव गरेको प्रसंगले सकारात्मक सन्देश दिएको थियो,’ महामन्त्री बुर्लाकोटीले भने ।
उम्मेदवार छनोट र नयाँ अनुहार
१८२ सिट जित हात पार्नुमा सक्षम उम्मेदवार छनोटमा ध्यान दिएको तर्क रास्वपाको छ ।
‘जनताको आशालाई बलियो बनाउन उम्मेदवार छनोटमा इमान्दारिता देखाइएको थियो । युवा, ऊर्जावान, शिक्षित र नयाँ सोच भएका व्यक्तिलाई प्राथमिकता दिइयो । लामो समय राजनीतिमा सक्रिय व्यक्तिहरूसँगै नयाँ र योग्य अनुहारलाई पनि अवसर दिइयो,’ बुर्लाकोटीले भने ।
अन्य दलबाट प्रवेश
रास्वपाले कांग्रेस, एमाले, मओवादी, राप्रपा र मधेशवादी दलका राम्रा नेतालाई पार्टीमा ल्याएर टिकट दिएको दाबी गरेको छ ।
‘पुराना दलबाट निराश भएका तथा परिवर्तन चाहने व्यक्तिहरूलाई पार्टीमा ल्याउने प्रयास गरियो । वैकल्पिक राजनीतिक समूह, अभियन्ता र युवाहरूलाई समेट्दै ठूलो सन्देश दिने प्रयास गरिएको थियो,’ संगठन विभाग सचिव शंकर श्रेष्ठले भने । थारुहट आन्दोलनका अगुवासमेत रास्वपामा प्रवेश गरेका थिए ।अनलाईन खबर बाट