logo
शुक्रबार, साउन २९ २०८३

‘भूमि बैंक’ अवधारणाबाट उत्पादन वृद्धि गर्ने लक्ष्य छ : अध्यक्ष अेाली


  • कुइनेटो न्युज
  • आइतबार, फाल्गुन १० २०८२

झापा/ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भूमि बैंक’ अवधारणाबाट उत्पादन वृद्धि गर्ने लक्ष्य रहेको बताउनु भएको छ। शनिबार दमकमा आयोजित निजी क्षेत्रसँगको संवाद कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो।

उहाँले कृषिमा ६० प्रतिशतभन्दा बढी जनसंख्या आश्रित हुनु मानव स्रोतको उचित प्रयोग नभएको उल्लेख गर्दै कृषिलाई आधुनिकीकरण, सुपर जोन र ब्लक खेतीमार्फत अघि बढाउनुपर्ने बताउनुभयो।

यस्तै, उहाँले देशमा केही पनि नभएको भन्ने भाष्य गलत भएको बताउनु भयो। उहाँले देशमा विकास र सुधार हुँदै गएको तर अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट पार्नुभयो।

ओलीले भन्नुभयो, ‘देशमा केही भएको छैन भन्ने होइन, भएको छ। तर अझै हुन बाँकी छ, त्यो गर्दै जानुपर्छ। शिक्षा, स्वास्थ्य, खानेपानी र सडक पूर्वाधारमा सुधार आएको छ।’
यस्तै, उहाँले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा सडक, विद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भएको पनि बताउनु भयो। ओलीले विगतमा बिजुली नभएको ठाउँमा अहिले सबै ठाउँमा विद्युत पुगेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘पहिले पेट्रोम्याक्स बालेर सभा गरेका थियौँ, आज विद्युत नपुगेको कुनै कुनो छैन।’

अध्यक्ष ओलीले विकासका लागि पैसा मात्र होइन, स्पष्ट दृष्टिकोण आवश्यक पर्ने बताउनुभयो। चीन र स्क्यान्डिनेभियन देशहरूको उदाहरण दिँदै उहाँले विकास भिजन र आइडियाबाट हुने धारणा राख्नुभयो। सोही क्रममा उहाँले सरकारी जागिरको सीमित अवसर भएकाले युवालाई उद्यमशीलतामा लाग्न आग्रह पनि गर्नुभयो। ओलीले सरकारले सहुलियत ऋण, लगानी वातावरण र निजी क्षेत्रसँग सहकार्य बढाइरहेको बताउनुभयो।

यस्तै, उहाँले रेमिट्यान्समा निर्भर अर्थतन्त्र जोखिमपूर्ण हुने भन्दै ओलीले उत्पादन, उद्योग, विज्ञान–प्रविधि र नवप्रवर्तनमा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने बताउनुभयो।
दैलेखको ग्यास खानी र नवलपरासीको धौवादी फलाम खानी सञ्चालनले आर्थिक समृद्धि ल्याउने उहाँको दाबी छ। नेपालको चिसो भूभाग सूचना प्रविधि र एआईका लागि उपयुक्त भएको उल्लेख गर्दै ओलीले ग्रीन हाइड्रोजन जस्ता नयाँ ऊर्जा प्रविधिमा नेपालले अवसर लिनुपर्ने धारणा राख्नुभयो।

साथै, शिक्षा, स्वास्थ्य, गाँस, बास र कपास आधारभूत मौलिक हक भए पनि नागरिक आफैँ पनि कर्मशील हुनुपर्ने ओलीको भनाइ छ। ओलीले भन्नुभयो, ‘सबै काम भइसक्यो म भन्दिनँ, तर केही पनि भएको छैन भन्नु गलत हो।’

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend