बिर्तामोड। एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज मछिन्द्र फुटबल क्लबले अन्तिम क्वार्टर फाइनल खेलमा मलेसियाको एन पेनाङ फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे नेपाली नागरिकहरुले मलेसियामा सञ्चालन गरेको क्लबले उत्कृष्ट लयमा रहेको ए डिभिजन क्लब मछिन्द्रसँग सेमिफाइनल प्रवेशका लागि खेल्दैछ ।
जारी राष्ट्रिय लिगमा ६ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा रहेको मछिन्द्र झापाली प्रशिक्षक प्रवेश कटवालको प्रशिक्षण तथा सुजल श्रेष्ठको कप्तानीमा झापाली खेलाडीहरु देवेन्द्र तामाङ, पेमा तामाङ, प्रदिप बुढाथोकीसहित आज एन पेनाङविरुद्ध उत्रिदैछन् ।
त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।