logo
शुक्रबार, साउन २९ २०८३

सतासीधाम जेसीजकाे कवर्ड हल र सिकाइ केन्द्र पुनर्निर्माणका लागि बजेट उपलब्ध गराइने


  • कुइनेटो न्युज
  • आइतबार, माघ ११ २०८२

शिवसताक्षी । कोशी प्रदेश सरकारका भौतिक तथा पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनुवारले सतासीधाम जेसीज सामुदायिक कवर्ड हल तथा सतासीधाम सामुदायिक सिकाइ केन्द्रको भवन पुनर्निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
शनिबार सतासीधाम जेसीजको १३औँ पदहस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुनुवारले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो। शिवसताक्षी नगरपालिका–११ स्थित सामुदायिक अध्ययन तथा सिकाइ केन्द्रको सभाहलमा भव्य रूपमा सम्पन्न कार्यक्रममा उहाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा वर्ष २०२५ का निवर्तमान कार्यसमितिबाट नव–निर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पद हस्तान्तरण गरिएको थियो। जेसीजको विधानअनुसार सम्पूर्ण पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ।
नवगठित कार्यसमितिको अध्यक्षमा निरोज दुलाल चयन हुनुभएको छ। कार्यकारिणी उपाध्यक्षमा मन्जिल नेपाल र प्रतिमा बजगाई चयन भएका छन्। यस्तै उपाध्यक्ष पदमा भुपेन्द्र बस्नेत, सुजन भण्डारी, नेयारिका प्रधान र मन्दिरा पौडेल चयन भएका छन्।

कानुनी सल्लाहकारमा रिता कोइराला, महासचिवमा दिलबहादुर कार्की (राजन), कोषाध्यक्षमा सरु अधिकारी खत्री तथा सह–कोषाध्यक्षमा सविना बोहोरा चयन हुनुभएको छ।
त्यसैगरी तालिम निर्देशकमा पारस खनाल, सञ्चार संयोजकमा निकेश दाहाल, प्रकरण निर्देशकमा साहिल लिम्बू तथा शाखा सम्पादकमा नेत्र पाठक चयन भएका छन्।
कार्यक्रममा सतासीधाम जेसीज वर्ष २०२५ का अध्यक्ष पदमजंग कुँवरले वर्ष २०२६ का अध्यक्ष निरोज दुलाललाई अध्यक्षीय चेन हस्तान्तरण गर्नुभएको थियो।
शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा तथा नेपाली काँग्रेस झापाका सभापति एवं झापा–४ का उम्मेदवार देउकुमार थेबे विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष तथा सदस्यहरू, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका अग्रज, सामाजिक अभियन्ता तथा संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नव–निर्वाचित अध्यक्ष निरोज दुलालले जेसिजको मूल उद्देश्यअनुसार युवाको नेतृत्व विकास, सामाजिक सेवा, व्यक्तित्व विकास तथा सामुदायिक विकासमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले टिमवर्क, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै जेसिजलाई अझ सशक्त बनाइने बताउनुभयो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend