कमल । कमल गाउँपालिकाले समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण योगदान गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूको परिचय, पहुँच र जिम्मेवारीलाई अझ सहज र पारदर्शी बनाउन फोटोसहितको विवरण बोर्ड निर्माण गरेको छ।

गाउँपालिकाको सम्पुर्ण वडामा सेवाारत २४जना महिला स्वास्थ्य स्वयंसेविकाहरूको तस्बिर, नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गरिएको बोर्ड राखिएको छ। बोर्डमार्फत सेवाग्राहीले आफ्नो टोल/बस्ती भित्र रहेको स्वयंसेविकासँग शीघ्र सम्पर्क गर्न सक्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

स्वास्थ्य सेवा, विशेष गरी मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, सरसफाइ र जनचेतनामूलक गतिविधिमा अगाडि रहेर काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान तथा परिचय गराउने उद्देश्यले कार्यक्रम ल्याइएको हो। यस कदमले स्वास्थ्य सेवामा पहुँच बढ्नुका साथै समुदाय र स्वयंसेविकाबीच समन्वय सबल हुने विश्वास लिइएको छ।