शिवसताक्षी। शिवसताक्षी –३ पाराबारीस्थित श्री भानु माध्यमिक विद्यालयमा दुईकोठे नव–निर्मित विद्यालय भवनको उद्घाटन तथा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्रा ‘रोशन’ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य प्राज्ञ सुमित्रा बाङ्देल ‘चेली’, सामाजिक–राजनीतिक अगुवा खड्ग कार्की, वडा नं. ३ का अध्यक्ष भास्कर न्यौपाने, शिक्षक, अभिभावक, शिक्षक–अभिभावक संघका प्रतिनिधि तथा सामाजिक–राजनीतिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उक्त दुईकोठे विद्यालय भवनको शिलान्यास यसअघि सामाजिक–राजनीतिक समाजसेवी तथा दाता मचिन्द्र शेर्मा र वडा अध्यक्ष भास्कर न्यौपानेद्वारा गरिएको थियो। आज सोही भवनको नगर प्रमुख मेघाहाङ थोप्राले औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो।
कार्यक्रमकै अवसरमा लण्डन निवासी आर्थिक सहयोगदाता सुरेन्द्र दिम्माली राईको सहयोगमा विद्यार्थीहरूलाई न्यानो पोशाक वितरण गरिएको थियो। यसअघि उहाँको २० हजार रुपैयाँ सहयोगबाट १९ जना विद्यार्थी लाभान्वित भएका थिए भने आज थप ५२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो।
जसअनुसार आधारभूत तह (कक्षा १–५) का ३३ जना र कक्षा (६–८) का १९ जना विद्यार्थी लाभान्वित भएका छन्। उक्त सहयोगमा दमक निवासी नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य प्राज्ञ **सुमित्रा बाङ्देल ‘चेली’**ले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुभएको विद्यालयले जनाएको छ।
कार्यक्रममा बोल्दै सामाजिक–राजनीतिक व्यक्तित्व खड्ग कार्कीले विद्यालयको भवन योजना कार्यान्वयनमा सहयोग गरेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वडा अध्यक्ष भास्कर न्यौपानेले विगतको तुलनामा विद्यालयमा उल्लेखनीय परिवर्तन आएको उल्लेख गर्दै नगर प्रमुखसँग सहकार्य गरी गुणस्तरीय विकास योजनाहरू अघि बढाइने बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक गणेश चम्लागाईंले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै दाता, अतिथि, अभिभावक, शिक्षक तथा विद्यार्थीप्रति धन्यवाद व्यक्त गर्नुभयो। साथै “हाम्रो विद्यालय, हामी बनाऔँ” भन्ने अभियान साकार बन्दै गएको उल्लेख गर्दै व्यवस्थापकीय सुदृढीकरण र शैक्षिक गुणस्तरको तीव्र विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।
सहायक प्रधानाध्यापक कमलप्रसाद नेपालले विद्यालयको मुहार फेर्न समुदाय एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै विश्वास र सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रम साहित्यिक तथा बौद्धिक व्यक्तित्व सञ्जय राई वाम्बुलेको कुशल सञ्चालनमा प्रारम्भदेखि समापनसम्म भव्य, सभ्य र रमाइलो वातावरणमा सम्पन्न भएको थियो।