logo
शुक्रबार, साउन २९ २०८३

चुलाचुली आधारभुत अस्पताल सञ्चालनार्थ सप्ताह महापुराणको आय व्याय सार्वजनिक

स्मारिका विमोचन तथा अक्षयकोष दाता सम्मान


  • उमानाथ भण्डारी
  • बुधबार, मंसिर २४ २०८२

चुलाचुली । इलामको चुलाचुली स्थित चुलाचुली आधारभूत अस्पताल सञ्चालनार्थ आयोजना गरिएको समावेशी श्रीमद् भागवत सप्ताह महापुराण–२०८१को आय–व्यय आज सार्वजनिक गरिएको छ । सोही अवसरमा महापुराण सम्बन्धी स्मारिका २०८२ विमोचन र अक्षयकोष दाताहरूलाई सम्मान गरिएको छ ।

गत वर्ष २०८१ साल कात्तिक २६ गतेदेखि मंसिर २ गतेसम्म चुलाचुली–२ स्थित चुलाचुली आधारभूत अस्पताल परिसरमा सञ्चालित श्रीमद् भागवत सप्ताह महापुराणको आय–व्यय आज अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। महापुराणको अक्षयकोष तथा शिलालेखसम्बन्धी सामग्री समेटिएको स्मारिका पनि सोही कार्यक्रममार्फत विमोचन गरिएको थियो ।

आर्थिक समितिका संयोजक धर्मप्रसाद ढुङ्गानाका अनुसार महापुराणबाट आम्दानीतर्फ ३७ लाख ८ हजार २ सय ३६ रुपैयाँ र खर्चतर्फ २४ लाख ४१ हजार ६ सय ४३ रुपैयाँ खर्च भई १२ लाख ६६ हजार ५ सय ९३ रुपैयाँ बचत भएको छ।

स्मारिका विमोचन तथा दाता सम्मानपछि बोल्दै चुलाचुली गाउँपालिकाका अध्यक्ष तथा समावेशी सप्ताह महापुराण–२०८१का संयोजक राजेन्द्र केरुङले पालिकाले दिएको ठूलो जिम्मेवारी समितिले कुशलतापूर्वक सम्पन्न गर्दै आय–व्ययलाई पारदर्शी रूपमा स्मारिकामार्फत सार्वजनिक गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिलकुमारी लावती, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, वडा नं. २ का अध्यक्ष लक्ष्मण श्रेष्ठ, स्वास्थ्य शाखाका प्रमुख दुष्यन्त दाहाल, अस्पताल प्रशासनका व्यवस्थापक एकेन्द्र बाँस्कोटा, आर्थिक उपसमितिका सचिव होमनाथ दाहाल, कोषाध्यक्ष निर्मला दाहाल, स्वास्थ्यकर्मी तथा स्थानीयको उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन श्रीमद् भागवत सप्ताह महापुराण मूल समारोह समितिका सचिव विवश वलिभद्र कोईरालाले गर्नुभएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend