logo
शुक्रबार, साउन २९ २०८३

चुलाचुलीमा न्यायिक समिति संजाल इलामको वैठक तथा दिशा निर्देश कार्यशाला गोष्टी सम्पन्न


  • उमानाथ भण्डारी
  • मंगलबार, मंसिर २३ २०८२

चुलाचुली,  ईलामको चुलाचुलीमा जिल्ला स्तरीय न्यायिक समिति संजालको बैठक तथा कार्यशाला गोष्ठी सोमवार सम्पन्न भएको छ ।

मेलमिलापकर्ताको भूमिकाबारे, समुदायमा देखिएका चुनौतीहरू, न्यायिक समिति र संजालको योगदान, मेलमिलाप प्रक्रियामा आवश्यक सुधार लगायत विषयमा अन्तरक्रियात्मक छलफल भएको थियो ।

कार्यक्रममा पिडितहरुले गरेको आशा, अपेक्षा गरे अनुसारको न्यायमा पहुँच, सहजता प्रदान गर्न न्यायिक संजालको भूमिका अत्यन्तै राम्रो भएको भन्ने बुझाई रहेको प्रमुख अतिथि चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभएको छ ।

त्यस्तै इलामका जिल्ला प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले एउटा पालिकामा भएको अभ्यासहरू अर्को पालिकाहरूले सिक्ने दिशा निर्देश हुने कार्य राम्रो पक्ष रहेको बताउनुहुँदै न्याय लिन आउने पक्षलाई निष्पक्ष पारदर्शिता हुने अपेक्षा लिएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नेपालले मुद्दालाई फैसलाभन्दा मेलमिलापलाई प्राथमिकता हुने कार्य राम्रो रहेको बताउनु हुदै सामाजिक सद्भाव कायम गर्न जिल्ला स्तरीय न्यायिक सञ्जालले महत्वपूर्ण भूमिका खेलेको समेत बताउनु भयो ।

सहजीकरण गर्ने संस्था मानवअधिकार मञ्च नेपालका कार्यक्रम निर्देशक देवेन्द्र विश्वकर्माले न्यायिक समिति सञ्जालको काम कर्तव्य र औचित्यका बारेमा स्पष्ट पार्नुहुँदै न्याय निरूपणमा जिल्ला स्तरीय न्यायिक सञ्जालले एउटा महत्वपूर्ण कार्यलाई उपलब्धिका रूपमा हासिल गरेको बताउनु भयो ।

इलाम जिल्लाका १० पालिका भित्रका उपप्रमुख÷उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक, सदस्य, उजुरी प्रशासक, मेलमिलापकर्ता लगायतको सहभागिता रहेको न्यायिक समिति संजाल इलामको अध्यक्षता हस्तान्तरण कार्यक्रम समेत सम्पन्न गरिएको छ । आगामी तीन महिनाका लागि माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङलाई न्यायिक समिति सञ्जाल इलामको अध्यक्षको जिम्मेवारी समेत हस्तान्तरण गरिएको थियो ।

बैठकमा सुर्योदय नगरपालिका उपप्रमुख दुर्गा वराल, देउमाई नगरपालिका उपप्रमुख पविमाया राई, माई नगरपालिका उपप्रमुख हिमा भण्डारी, चुलाचुली गाँउपालिका उपाध्यक्ष दिल कुमारी योङयाङ लिम्बु, रोङ गाँउपालिका उपाध्यक्ष बिष्णुमाया खवास, सन्दकपुर गाँउपालिका उपाध्यक्ष हरि लुङ्गेली, माइजोगमाई गाउँपालिकाका उपाध्यक्ष प्रविना राई, माङ्सेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङ लगायतले स्थानीय तहमा भएका विवाद निरुपणका समस्या, चुनौती र अवसरका विषयमा अन्तरकृया मार्फत जानकारी गराउनु भएको थियो ।

न्यायिक समिति संजाल इलामको अध्यक्षता हस्तान्तरण कार्यक्रममा हरेक ३÷३ महिनामा फरक फरक पालिकामा हुने गरि सञ्चालन गरिदै आईएको छ । सुर्योदय नगरपालिकावाट शुरु भएको बैठक, इलाम नगरपालिका, सन्दकपुर गाँउपालिका, माई नगरपालिका, फाकफोकथुम गाँउपालिका हुँदै चुलाचुली गाउँपालिकामा सम्पन्न गरिएको छ भने आगामी फागुनमा माङ्सेबुङ गाँउपालिकामा सञ्चालन गरिने प्रस्ताव गरिएको छ ।

स्थानीय तहमा उत्पन्न हुने विवाद, मनमुटाव र वैमनस्यतालाई शान्तिपूर्ण, न्यायपूर्ण र सम्झौता–सम्बन्धमै समाधान गर्न मेलमिलापकर्ताको भूमिका, दुवै पक्षलाई सुन्ने, समान व्यवहार गर्ने, निष्पक्ष रहि समाधानको बाटो देखाउने र घर–आंगनमै न्यायको अनुभव दिलाउने मेलमिलाप कार्यलाई मर्यादित बनाउँदै लैजाने कुरामा सबै सरकारवालाहरूको निचोड रहेको थियो।

न्यायिक समितिको सचिवालय चुलाचुली गाँउपालिका इलामको आयोजना सम्पन्न बैठक गाँउपालिका

चुलाचुली गाउँपालिका उपाध्यक्ष दिल कुमारी योङयाङ लिम्बुको अध्यक्षता, गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यता र इलाम जिल्ला प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको विशेष आतिथ्यतामा सम्पन्न बैठक तथा गोष्ठीमा इलाम जिल्लाका १० वटा पालिकाका उपाध्यक्ष÷उपप्रमुख, न्यायिक समितिका सदस्यहरू, उजुरी प्रशासक प्रमुख प्रशासकीय अधिकृत मेलमिलापकर्ताहरू सहजीकरण गर्ने संस्था मानव अधिकार मञ्च नेपालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

चुलाचुली गाउँपालिका उजुरी प्रशासक सम्झना केरुङ र सहजीकरण गर्ने संस्था मानवअधिकार मञ्चका सहजकर्ता मनकुमार बराइलीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend