झापा । अविरल वर्षाका कारण पूर्व–पश्चिम लोकमार्ग अन्तरगत झापाको शिवसताक्षी नगरपालिकामा पर्ने भालुखोलामा आएको बाढीले डाईभर्षन बगाउदा राजमार्ग अवरुद्ध भएको छ । त्यस्तै मेचिनगरमा पर्ने कालिखोलामा बाढी आएको छ, जसका कारण सातायात सञ्चाल अवरुद्ध भएको छ ।

त्यसैगरी झापाको कमल गाउँपालिका ७ अन्तरगत लालपानी देखी दक्षिण झर्काहा सम्मको क्षेत्रमा पर्ने २५ घरका साथै धानवाली डुबानमा परेको छ ।

सुकुना खोलाको पानीले झापा गाउँपालिका वडा नं २ का ५६ घर डुबानमा परेका छन् । डुबान प्रभावित बालबालिका र स्थानीयवासीलाई नजिकैको कुवाड़ी माविमा सुरक्षित राखिएको छ ।
शिवशताक्षी नगरपालिका वडा नं ४, ५, ६ र ७ मा बाढीका कारण ३ सय ५० भन्दा बढी घर डुबानमा परेका छन् । त्यस्तै भद्रपुर नगरपालिका वडा नं ५ का २५ घरका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काका अनुसार उद्धार कार्य तीव्र गतिमा अघि बढिरहेको छ र प्रभावित समुदायको तत्काल सहायता सुनिश्चित गरिनेछ । बाढीले जनजीवन, आवत–जावत र विद्यालय सञ्चालनमा समेत प्रभाव पारेको छ । स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।