कमल । कमल गाउँपालिका २ स्थित इन्द्र लोहनी बोर्डिङ स्कूलमा पुस्तकालय (लाइब्रेरी)को स्थापना गरिएको छ ।
विद्यालयमा स्थापना गरिएको पुस्तकालयको गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले शुक्रवार उद्घाटन गरिएको छ । पुस्तकालयको स्थापनाले विद्यार्थीहरूको ज्ञानवृद्धि र अध्ययन संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने अध्यक्ष राईले बताउनु भयो ।
अध्यक्ष राईले विद्यालयलाई आवश्यक सहयोग निरन्तर रहने आश्वासन दिदै पुस्तकालय निर्माणका लागि अहोरात्र खटिनुहुने र यसलाई सार्थक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने डा. सोफिया थुलुङप्रति उहाँले हार्दिक आभार व्यक्त समेत गर्नुभयो ।

यसैगरी कमल नगर अस्पतालमा कार्यरत र आम्दा अस्पतालबाट दैनिक सेवा दिँदै आउनुभएका डा. अजित शाहलाई उच्च शिक्षा हासिल गर्न प्रस्थान गर्न लागेका अवसरमा सम्मान तथा ‘फेरि भेटौंला’ कार्यक्रमसहित बिदाइ गरिएको छ । कार्यक्रममा अध्यक्ष राईले डा. शाहको योगदानको उच्च प्रशंसा गर्दै अध्ययनपछि पुनः गाउँपालिकामा फर्केर सेवा गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

त्यसैगरी, कमल–२ स्थित ज्योति माध्यमिक विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ । दमक थुलुङको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा सम्पूर्ण विद्यार्थी, अभिभावक र शिक्षकहरूको दन्त स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालय सञ्चालक तथा व्यवस्थापन समिति अध्यक्ष तिलक खड्काले यस्ता स्वास्थ्य सेवा कार्यक्रमले बालबालिकाको स्वास्थ्य सचेतना र समग्र विकासमा ठूलो योगदान पु¥याउने धारणा राख्नुभयो ।