logo
शुक्रबार, साउन २९ २०८३

नेकपा (एकीकृत समाजवादी) झापाले पार्टी स्थापना दिवसको अवसरमा टिकटक प्रतियोगिता आयोजना गर्ने


  • कुइनेटो न्युज
  • बुधबार, साउन २१ २०८२

झापा / नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीले पार्टीको स्थापना दिवसको अवसरमा टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ।
भदौ ९ गते पार्टी स्थापनाको अवसर पारेर आयोजना गरिने प्रतियोगिता आज बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

“सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल विषयमा आधारित टिकटक भिडियोहरू नेपाली भाषामा निर्माण गरिनुपर्नेछ। सहभागी भिडियोहरू तीन मिनेटभन्दा लामो हुन नहुने र ती भिडियोहरू प्रतियोगिता प्रारम्भ अघि पार्टीको जिल्ला कमिटीको आधिकारिक टिकटक आईडीमार्फत मात्र सार्वजनिक गरिनेछ।

प्रतियोगितामा सहभागी हुन उमेर वा स्थानको कुनै सिमा राखिएको छैन। अध्यक्ष बीपी भट्टराईका अनुसार पठाइएका भिडियोलाई पार्टीको आधिकारिक आइडीमा पोस्ट गर्नुअघि परीक्षण र अध्ययन गरिनेछ। भिडियोहरू मोबाइल नम्बर ९७०७९०५७०९ मा वाट्सएपमार्फत पठाउनुपर्नेछ।

प्रतियोगिताका लागि निर्णायक मण्डलमा समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, एकीकृत समाजवादी झापाका प्रचार विभाग प्रमुख अनिलदेब राई र समाजवादी प्रेस संगठन झापाका अध्यक्ष गोविन ल्वागुन रहेका छन्।

साउन २५ गतेदेखि भदौ १ गतेसम्म प्राप्त भिडियोलाई प्रतियोगितामा समावेश गरिनेछ। भदौ ८ गतेसम्म प्राप्त लाइक, भ्युज र शेयरको आधारमा ५० अंक र बाँकी ५० अंक निर्णायक मण्डलबाट प्रदान गरिनेछ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्नेले दश हजार, दोस्रोले पाँच हजार र तेस्रोले तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछ। विजयीहरूलाई भदौ ९ गते एकीकृत समाजवादीको स्थापना दिवसकै अवसरमा आयोजित विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ।

पत्रकार सम्मेलनमा कोशी प्रदेश सचिवालय सदस्य तथा नेपाल खेलकुद महासंघ समाजवादीका वरिष्ठ उपाध्यक्ष शंकर थापा, झापाका पूर्वअध्यक्ष बेदराज रेग्मी, पुर्व प्रदेश सदस्य बासु दुलाल, उपाध्यक्ष द्दोय नविन इजम, सरस्वती सुब्बा, सचिव सानकुमार लामा, उपसचिव श्री मिश्रलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend