logo
शुक्रबार, साउन २९ २०८३

काेशी प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न


  • कुइनेटो न्युज
  • आइतबार, साउन १८ २०८२

विराटनगर। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज प्रदेश सुरक्षा समन्वय समितिको बैठक बसेको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको विशेष आतिथ्यमा बैठक बसेको हो।

बैठकमा कोशी प्रदेशको शान्ति सुरक्षाको अवस्था र विपद व्यवस्थापनको बारेमा छलफल भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाका अनुसार कोशी प्रदेशमा अहिले देखिएका सुरक्षा चुनौती, गर्नुपर्ने काम र सीमा सुरक्षा लगायतका विषयमा छलफल भएको छ।

बैठकमा लागू पदार्थ बेचबिखन, ओसारपोसार, रोकथाम साथै सडक सुशासनमा कार्ययोजना बनाएर काम गर्ने निर्णय गरिएको थापाले जानकारी दिनुभयो। सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रण लाई प्रभावकारी बनाएर काम गर्न बैठकमा मुख्यमन्त्रीले कार्कीले ‌निर्देशन दिनुभएको उहाँले जानकारी दिनुभयो।

बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेशको विभिन्न जिल्लामा हुन लागिरहेको रथयात्रा साथै विराटनगरको रथयात्राको सुरक्षा प्रबन्धका बारेमा पनि चासो राख्नुभएको थियो। मुख्यमन्त्री कार्कीले चाडपर्वहरू नजिकिँदै आइरहेकोले कालोबजारी रोकथाम साथै बजार अनुगमनलाई पनि तीव्रता दिनुपर्नेमा जोड दिनुभएको थियो।

उपसचिव थापाका अनुसार खास गरेर आजको बैठकमा विपत, लागू पदार्थको रोकथाम, सडक सुशासन, सीमा क्षेत्रको तस्करी नियन्त्रणका बारेमा महत्वपूर्ण निर्णय भएको छ। सुरक्षा समन्वय समितिको बैठकमा कोशी प्रदेशका सुरक्षा निकायका प्रमुख साथै मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारी को उपस्थिति रहेको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend