कमल । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइने गरिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको इतिहास छ । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ ।

यसै अवसरमा आज प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घ झापा र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन कोशी प्रदेशको आयोजनमा तथा नेकपा (माओवादी केन्द्र) दमकको संयोजनमा कमल ५ पाडाजुँगी स्थित एक होलमा भएको रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको रहेको थियो । सो कार्यक्रममा ४० जनाले रगतदान गर्नु भएको थियो । कार्यक्रममा १ सय ८ पटक रगतदान गर्ने शकर बस्नेत (तिर्थ) लगायत रगतदान गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।

रगत अभावका कारण उपचार नपाएर मानिसको मृत्यु नहोस भन्ने उद्देश्यले रगत दान सुरु गरिएको हो । महासङ्घले झापामा पहिलो पटक रगतदान गर्ने कार्यक्रमको आयोजना गरेको छ । यस्तो पवित्र कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै आगामी दिनमा महासङ्घले मोरङ र सुनसरीमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्ने छ । रगत अभाव भएर कुनै पनि मानिसको अकाल मै मृत्यु नहोस् भनेर नै हामिले देशभरी नै यस्ता कार्यक्रम गर्ने गरेको प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घ केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश फ्याक्सन इन्चार्ज अन्जना पोख्रेलले बताउनु भयो ।

महासङ्घ झापाको आयोजनामा रक्तदान कार्यक्रम राखेको हो । रगत दान महादान हो । संसारमा धेरै प्रकारका दानहरू हुन्छन् तर रगत दान जस्तो पवित्र र महादान दान अरु केहिहुन सक्दैन । रगत दानले हजारौं व्यक्तिको ज्यान बचाउन सकिने भएकोले स्वास्थ्य व्यक्तिले जीवनमा रगतदान गर्नु उत्तम कार्य भएको राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन कोशी प्रदेश अध्यक्ष तुलसी पोख्रेलले बताउनु भयो ।
रगतदान कार्यक्रममा जनस्वास्थ्यकर्मी महासङ्घ र प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनका नेताका सहित नेकपा माओवादी पार्टीका नेता समेतको उपस्थिती रहेको थियो ।
प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घ झापाका अध्यक्ष श्याम कुमार श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम राष्ट्रिय प्रगतिशील कर्मचारी सङ्गठन कोशी प्रदेश कोषाध्यक्ष विष्णु श्रेष्ठले स्वचालन गर्नु भएको थियो भने उपाध्यक्ष पिताम्बर भण्डारीले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।