कमल । कमल गाउँपालिकाले बालस्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति गर्दै पालिकाभित्रका ७ वटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरेको छ ।
२०८१ साल चैत महिनामा सबै वडामा स्वास्थ्यकर्मीहरू द्वारा घरधुरी सर्वेक्षण गरी खोप छुट बालबालिका पहिचान गर्ने कार्य सम्पन्न गरिएको थियो । सर्वेक्षण अनुसार, १५ महिनासम्मका ७३३ बालबालिकाले नियमित खोप लिइसकेको पाइएको थियो भने १६ देखि ५८ महिनासम्मका २०७८ बालबालिकामध्ये ५९ जना खोप छुट भएका बालबालिका पहिचान गरी सबै बालबालिकालाई आवश्यक खोप दिई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल थापाले जानकारी दिनुभयो ।


घोषणा कार्यक्रम पालिका खोप समन्वय समितिका अध्यक्ष तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई,उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकिय अधिकृत केशव ढकाल ,सम्पुर्ण वडाका वडा अध्यक्ष लगायत जनप्रतिनी खोप समन्वय समिति सदस्य, स्वास्थ्यकर्मी, खोपकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी तथा अन्य सरोकारवाला पक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा सम्पन्न कार्यमा उपलब्धि हासिल गर्न महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, खोपकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी र विभिन्न संघसंस्थाहरूको सक्रिय योगदान रहेको थियो । घर–घरमा गएर अभिभावकलाई खोपको महत्व बुझाउने, छुट बालबालिका पहिचान गरी खोप सेवा उपलब्ध गराउने र जनचेतना अभिवृद्धिमा वहाँहरूको भूमिका महत्वपूर्ण रहेको थियो ।


कमल गाउँपालिकाले सम्पूर्ण प्रक्रिया पूरा गरी पालिका स्तरमा घोषणा गर्न जिल्ला खोप समन्वय समितिको सचिवालयमा सिफारिश गरिसकेको छ । सचिवालयबाट स्वीकृति प्राप्त भएपछि कमल गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिनेछ कमल गाउँपालिकाले जनाएको छ ।


कमल गाउँपालिकाको यो उपलब्धिले पालिकालाई बालस्वास्थ्य प्रवद्र्धनतर्फ थप बलियो बनाउनुका साथै अन्य पालिकाहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास लिइएको छ कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।