कमल। घरेलु कामदारको रुपमा राखिएकी नाबालिकामाथि जबरजस्ती करणी आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालत विराटनगरको इलाम इजलासले धरौटीमा छाड्ने आदेश दिएको छ । बिहीबार न्यायाधीशद्वय किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको इजलासले शिवाकोटीलाई २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
नेकपा एमालेका नेतासमेत रहेका पूर्वमेयर शिवाकोटीलाई झापा जिल्ला अदालतले २०८१ पुस २२ गते जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । तर अदालतले थुनामा पठाउने आदेश दिएपनि शिवाकोटीले कारागार बस्नु परेन।
एमालेको प्रभावशाली नेता मध्येमा पर्ने शिवाकोटी बिर्तामोडको बी एण्ड सी अस्पतालमा ५ महिनादेखि बसि सहनु भएको छ । प्रहरीको हिरासतको अवधि पनि वहालेँ अस्पतालमै कटाउनु भएको थियो ।
पीडित भनिएकी बालिकालाई शिवाकोटीले आफ्नो धर्म छोरी भएको बताउँनुहुन्थ्यो । बुबा नभएको र आमाले दोस्रो विवाह गरेका कारण हजुरआमाले ती बालिकालाई शिवाकोटीको संरक्षणमा राख्नु भएको थियो ।
पटकपटक करणी भएपछि बालिका घर छाडेर स्कुल पोशाकमै भागेकी थिइन् । भागेर काकडभिट्टा नाका पुगेकी उनलाई आफन्त नेपाल नामको संस्थाले स्कुल पोशाकै उद्धार गरेको थियो ।
त्यसबेला उनले आफू बसेको घरमा बारम्बार शिवाकोटीले जबरजस्ती करणी गरेपछि भाग्न बाध्य भएको बयान दिनु भएको थियो । त्यसपछि यो विषय प्रहरीसम्म पुगेको थियो । अनुसन्धानका क्रममा कसैलाई भने मारिदिने धम्की दिएर शिवाकोटीले करणी गरेको विषय बाहिर आएको थियो ।
यस्तो छ आदालतले लिएको आधार
अदालतले शिवाकोटीलाई छाड्दा मेडिकल रिपोर्टसँगै पीडितले आफ्नै साथीहरुलाई नभनेको, हजुरआमालाई पनि नभनेको र शिवाकोटीकै कारण बालिकाको भविष्य उज्वल भएको निवेदन पालिकामा दर्ता भएको विषय पनि उल्लेख छ ।
‘प्रतिवादीले पीडितलाई आफ्नो घरमा वर्षौंदेखि पालनपोषण गरी विद्यालयमा अध्ययन गराई आएकोमा विगत ३ वर्षदेखि प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गर्दै आएको भन्ने निजको हजुरआमाको किटानी जाहेरी रहेको तर सोभन्दा अगावै यी पीडितको हजुरआमासँग निजको पटक पटक फोनमा सम्पर्क भएको र भेट्न समेत आउने गरेको भनी पीडितको मौकाको कागज रहेकोमा सो तथ्य आफ्नो हजुरआमालाई भनेको भनी निजको कागजबाट खुल्न आएको पाइँदैन ,’ शिवाकोटीलाई धरौटीमा छाड्दा अदालतले भनेको छ, ‘यी पीडित आफन्त नेपाल नामक संस्थाको सम्पर्कमा आएपछि मात्र मिति २०८१–०८–१५ को जवरजस्ती करणीको वारदात देखाई मिति २०८१–०८– २४ मा जाहेरी परेको देखिन्छ ।’