logo
शुक्रबार, साउन २९ २०८३

देशका सबै जातजाति ,भाषा ,धर्म संस्कृतिलाई राष्ट्रको मूलधारमा ल्याउन सके राष्ट्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की


  • कुइनेटो न्युज
  • आइतबार, फाल्गुन १८ २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले देशका सबै जातजाति ,भाषा ,धर्म संस्कृतिलाई राष्ट्रको मूलधारमा ल्याउन सके राष्ट्र बलियो हुने बताउनुभएको छ।

आज विराटनगरमा सार्वजनिक सेवा प्रसारण नेपालको आयोजनामा भएको नेपाल राष्ट्रभाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सबै धर्म संस्कृति जातजातिको संरक्षणले नै पहिचान स्थापित हुने र बलियो राष्ट्र बन्ने बताउनुभयो। उहाँले भन्नुभयो – ‘भाषा ज्ञान संस्कृति लाई निरन्तरता दिँदै यसको जगेर्ना गर्न सकेमा मुलुक समृद्धिको बाटोमा लम्किने छ।’

कुनै समय एउटै भाषा एउटै भेष एउटै संस्कृति भनेर हिँडेको नेपालमा हामी अहिले आन्दोलन को जगमा सबै भाषा धर्म संस्कृतिको जगेर्नामा लागेको उहाँले बताउनु भयो । यो नै महत्वपूर्ण उपलब्धि भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले अब सबै तहका सरकारले भाषा धर्म र संस्कृतिको सम्बर्धनमा लाग्नुपर्ने बताउनुभयो। नेपालको भाषा संस्कृति जातजाति प्रमुख सम्पदा भएको उल्लेख गर्दै उहाँले सम्पदाहरूको संरक्षण गरेर राष्ट्रिय आम्दानी वृद्धि गर्दै राष्ट्रिय पुँजीको विकास गर्न सक्ने धारणा राख्नुभयो ।

कोशी प्रदेशभित्र रहेका विभिन्न जातजाति धर्म संस्कृति लाई संरक्षण गर्न नीति बनाउने तर्फ सरकार लागिरहेको जानकारी दिँदै उहाँले भाषा आयोगले सिफारिस गरेको लिम्बु र मैथिली भाषालाई यो प्रदेशमा पहिलो चरणमा स्थापित गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो।

टेलिभिजन र रेडियो नेपालले किशोर अवस्थाका बालबालिकालाई लक्षित गरेर कार्यक्रम बनाउन सके सुसंस्कृत र योग्य नागरिक तयार हुने चर्चा गर्दै मुख्यमन्त्री कार्कीले यसतर्फ कार्यक्रम गरेर हाम्रो समाजलाई अगाडि बढाउन लाग्नुपर्ने उल्लेख गर्नुभयो।

किशोर किशोरीहरू कुलततर्फ फस्न थालेको तर्फ चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले यसबाट जोगाउन सार्वजनिक प्रसारण सेवाको दायित्व हुने उल्लेख गर्नुभयो।

कार्यक्रममा आन्तरिक मामला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले सहकार्यका माध्यमबाट यहाँको भाषा संस्कृति को संरक्षण गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिनुभयो। सार्वजनिक सेवा प्रसारण का कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले रेडियो नेपाल र नेपाल टेलिभिजन प्रदेश सरकारसँगको सहकार्यमा अगाडि बढ्न चाहेको बताउँदै यसका लागि आवश्यक तयारी गरेर प्रदेश सरकारसँग छलफल गर्ने बताउनुभयो। नेपाल पत्रकार महासंघ प्रदेशका अध्यक्ष भारत खड्काले पत्रकारहरुलाई दक्ष र योग्य बनाउँदै समावेशीकरणको विषयलाई अगाडि बढाउन जोड दिनुभयो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend