logo
शुक्रबार, साउन २९ २०८३

प्रदेश १ मा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ आयोजना हुँदै


  • कुइनेटो न्युज
  • बुधबार, फाल्गुन १४ २०८१

विराटनगर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजक र बेलबारी प्रज्ञा प्रतिष्ठान सहआयोजक रहेरआगामी फागुन १६ गतेदेखि २० गतेसम्म मोरङको बेलबारीमा कोशी प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ आयोजना हुने भएको छ।

यस प्रदर्शनीमा प्रदेशका १४ जिल्लाका १८६ जना कलाकारहरूका २२१ वटा कलाकृतिहरू प्रदर्शनीमा राखिने छन्। समसामयिक मूर्तिकला १८ वटा, समसामयिक चित्रकला १२० वटा, परम्परागत चित्रकला ५ वटा, हस्तकला (हेन्डिक्राफ्ट) ३५ वटा, फोटोग्राफी कला १६ र लोककला २८ वटा रहेका छन्।

कार्यक्रममा प्रदेशमा रही लामो समयदेखि निरन्तर कला सिर्जनामा लागिरहेका ४ जना वरिष्ठ कलाकारहरूलाई सम्मान प्रदान गरिनेछ। साथै, प्रदर्शित कलाकृतिहरू मध्येबाट एकजनालाई ५० हजार राशिको उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कार र अन्य विभिन्न विधामा विद्यमान २५ हजार राशिको विधागत पुरस्कारले पुरस्कृत गरिनेछ।

प्रदर्शनी कार्यक्रममा पहिलो दिन उद्घाटन समारोह, दोस्रो दिन राष्ट्रिय कलाकारहरू सहितको कला कार्यशाला, तेस्रो दिन समसामयिक कला, लोक कला तथा स्थानीय कला सम्बन्धी अन्तरक्रिया कार्यक्रम, चौथो दिन सांगीतिक र सांस्कृतिक कार्यक्रम र पाँचौं दिन समापन समारोह हुने जानकारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रदर्शनी कार्यक्रमको अवधिभर १५ हजार भन्दा बढी अवलोकनकर्ताहरूलाई अवलोकन गराउने लक्ष्य राखिएको छ। कार्यक्रम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र इटहरी नगरपालिकाको आर्थिक सहयोगमा आयोजना हुन लागेको हो।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend