logo
शुक्रबार, साउन २९ २०८३

कमल नगर अस्पताल द्वारा निःशुल्क स्वास्थ्य शिविर, १०३४ जनाले लिए सेवा


  • कुइनेटो न्युज
  • शुक्रबार, फाल्गुन २ २०८१

कमल । कमल गाउँपालिका–२ स्थित कमल नगर अस्पतालले आफ्नो दोश्रो बार्षिकोत्सवको अवसरमा विशेषज्ञ डाक्टरहरूको सहभागितामा सम्पन्न बृहत निःशुल्क स्वास्थ्य शिविर १ हजार ३४ जनाले सेवा लिएका छन्

शिविरको उद्घाटन कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गर्नुभएको थियो। उद्घाटन समारोहमा अध्यक्ष राईले स्थानीय सरकारले कमलबासीहरूको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै अस्पतालको सेवा स्तरोन्नति तथा विकासलाई अझै फराकिलो बनाइने उल्लेख गर्नुभयो ।

२०७९ साल फागुन १ गतेदेखि सञ्चालनमा आएको पाँच बेडको यस अस्पतालले आफ्नो दोश्रो बार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिविर आयोजना गरेको हो। सो अवसरमा संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त स्वास्थ्य जाँच उपकरणहरू (एनालाइजर मेसिन–१ थान, बिपी सेट –५ थान, इसीजी मेसिन–१ थान) गाउँपालिका अध्यक्ष राईले अस्पताल प्रमुख डा. फुलकचन्द्र लावोतीलाई हस्तान्तरण गर्नुभएको थियो।

अस्पतालले २०८१ जेठ १७ गतेदेखि ल्याब सेवा (प्रयोगशाला सेवा) नयाँ भवनबाट सञ्चालन गरिरहेको छ, जसले गर्दा बिरामीहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । साथै, २०८१ असोज १६ गतेदेखि प्रत्येक महिनाको तेस्रो बुधबार मानसिक रोग विशेषज्ञ डा. नवराज कोइरालाको टोलीद्वारा नियमित मानसिक स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ ।


शिविरमा प्राप्त सेवाहरू

निःशुल्क सञ्चालन गरिएको स्वास्थ्य शिविरमा विभिन्न रोग सम्बन्धि परिक्षण गरिएको थियो । जस अन्तर्गत इन्टरनल मेडिसिनः ३४५ जना,बाल रोग सेवाः ८६ जना,दन्त परीक्षणः १९० जना,आँखा जाँच तथा उपचारः ३१६ जना र स्त्री तथा प्रसूति रोग सेवाः ९७ जनाले सेवालिएको कमल नगर अस्पतालका कार्यालय प्रमुख दिपक दाहालले जानकारी दिनुभयो ।

शिविरमा अनियमित रक्तस्राव, योनिस्राव, पेट दुख्ने, गर्भाशय खस्ने समस्या (गर्भाशय अर्गला), रिफ्राक्टिभ इरर (चस्मा आवश्यक पर्ने समस्या), सुख्खा आँखा, आँखा संक्रमण, दाँत किराले खाएको, छाति संक्रमण, टाइफाइड, दम, उच्च रक्तचाप, जोर्नी दुख्ने, कान दुख्ने संक्रमण भएका बिरामीले निःशुलक सेवा लिएका थिए ।विविरमा २० जना मोतियाबिन्दुका बिरामीलाई शल्यक्रियाको सिफारिस गरिएको थियो।

विविरमा विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरका डा. रीना शाह र डा. दृष्टी भट्टराई (स्त्री रोग विशेषज्ञ) ,डा. विजय साह ( नवजात शिशु तथा बाल रोग विशेषज्ञ)
डा. मुकेश साह ( इन्टरनल मेडिसिन विशेषज्ञ) बिर्ता ज्योति आँखा अस्पताल, दमक बाट
अशोक तिवारी (सिनियर अप्थाल्मिक अफिसर) पवित्रा मगर, प्रज्ञा कटुवाल त्यस्तै आमा डेन्टल क्लिनिक, दमक बाट डा. संगिता बराल, डा. सुस्मिता नेपाल, सारना जबेगुलगायतका स्वस्थ्यकर्मीहरुले सेवा प्रदान गर्नु भएको थियो ।

अस्पतालका आगामी योजना


अस्पतालमा हप्ताको दुई दिन (आइतबार र बिहीबार) दन्त परीक्षण तथा दन्त एक्स–रे सेवा उपलब्ध छ। आगामी चैत्र महिनाभित्रै हप्ताको एक दिन निःशुल्क आँखा परीक्षण सेवा सञ्चालन गर्ने तयारी गरिएको छ ।

अस्पतालका प्रमुख दिपक दाहालका अनुसार, वार्षिक रूपमा ३० हजार भन्दा बढी सेवाग्राही अस्पतालबाट सेवा लिइरहेका छन् । प्रसूति सेवा सुचारु भएपछि मासिक ७–८ जना गर्भवती महिलाहरू प्रसूति गराउन असपताल आउने गरेका छन् प्रमुख दाहालले बताउनुभयो ।

शिविर समापन समारोहमा कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले सहयोगी स्वास्थ्य संस्थाहरूलाई प्रशंसा पत्र प्रदान गर्नुका साथै विशेषज्ञ चिकित्सक, नर्स तथा कर्मचारीहरूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

निःशुल्क स्वास्थ्य शिविरलाई सफल बनाउन कमल गाउँपालिकाका नर्सिङ कर्मचारी, आम्दा अस्पतालका डा. अजित साह, महिला स्वास्थ्य स्वयंसेविका, तथा स्थानीय स्वास्थ्यकर्मीहरूले सहयोग गरेका थिए । औषधि व्यवस्थापनमा ग्रेस फार्मास्युटिकल, डीसीआई फार्मास्युटिकल, र एनएमएसआरए मेची युनिट को योगदान रहेको थियो।

बृहत स्वास्थ्य शिविरले स्थानीय नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै स्वास्थ्य चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका रहेको छ . कमल नगर स्पतालले आगामी दिनहरूमा अझ प्रभावकारी स्वास्थ्य सेवा विस्तार गर्दै जाने अस्पतालका प्रमुख दिपक दाहालले प्रतिबद्धता जनाउनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend