विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी विद्यालयहरु सरकारले बनाएको नियम भित्र रहेर सञ्चालन भइरहेको भन्दै सरकारीकरण गर्नु आवश्यक नरहेको बताउनुभयो ।
राज्यले निजी विद्यालय सरकारिकरण गर्न अहिले नै सक्ने अवस्था समेत नरहेको बताउनुभयो । सरकारीकरण गर्ने कानुन ल्याए राज्य नै असफल हुने अवस्था आउने उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले सामुदायिक विद्यालयको अवस्था हेर्दा राज्यले काम गर्न नसकिरहेको अवस्था देखिएको भन्दै उहाँले पहिले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सरकार लाग्नु पर्ने बताउनुभयो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को कोशी प्रदेश अधिवेशनलाई उद्घाटन गर्नु हुँदै निजी क्षेत्र शिक्षाबाट बाहिर हट्न खोजे समस्या हुने बताउनुभयो । यथार्थमा स्वास्थ्य र शिक्षा नेपाल सरकार एक्लैले जिम्मा लिन नसक्ने बताउनुभयो ।
संविधानले तीन खम्बे अर्थनीतिलाई आत्मसाथ गरेको भन्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘ हरेक क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य नगर्दा हाम्रा कुनै पनि योजना सफल हुँदैन ।’
मुलुकको आर्थिक सम्वृद्धिको अघि बढ्न निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
राज्यको संविधान र कानुनको परिधिभित्र रहेर काम गर्न आग्रह गर्दै उहाँले निजी क्षेत्रलाई अघि बढाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै प्याब्सनका पुर्वअध्यक्ष टिकाराम पुरीले सरकारले जनसङ्ख्या वृद्धि सम्बन्धी नीति ल्याउनु पर्ने माग गर्नुभयो ।
युवा जनशक्ति विदेश पलायन भएसँगै जन्मदर समेत कम भएको भन्दै पुरीले जनसङ्ख्या वृद्धि नीति ल्याउनु पर्ने आवश्यक देखिएको बताउनुभयो ।