logo
शुक्रबार, साउन २९ २०८३

सबै धर्म, संस्कृति बीचको सहकार्य, एकता र आपसी सद्भावले मात्र समृद्धि हासिल गर्न सकिन्छ : मुख्यमन्त्री कार्की


  • कुइनेटो न्युज
  • बिहिबार, माघ १७ २०८१

विराटनगर । सबै धर्म, संस्कृति मान्ने समुदायबीचको सहकार्य, एकता र आपसी सद्भावले मात्र समृद्धि हासिल गर्न सकिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनु भएको छ ।

आज तामाङ समुदायको महान चाड सोनाम ल्होसार तथा मञ्जुश्री संवत् २८६१ (नयाँ वर्ष) को अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले चाडपर्वले आपसी एकता बढाउने बताउनु भयो ।

शुभकामना सन्देशमा उहाँले नेपाल बहुभाषी, बहुजातीय, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक भएकाले विभिन्न समुदायका चाडपर्वले सामाजिक विविधता झल्काउने उल्लेख गर्नुभएको छ। “नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अंगीकार गरेकै सबै जातजाति, धर्म र संस्कृतिको सम्मान, संरक्षण तथा संवर्द्धन गर्नका लागि हो,” उहाँले भन्नुभएको छ।

कोशी प्रदेश सरकारले सबै समुदायको पहिचानलाई स्थापित गर्न निरन्तर लागि रहेको मुख्यमन्त्री कार्कीले बताउनु भयो । उहाँले विविधतायुक्त कोशी प्रदेशमा सबै समुदायले एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै सुखी र समुन्नत प्रदेश निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्नुभएको छ।

उहाँले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सम्पूर्ण समुदायबीच सहकार्य, एकता र आपसी सद्भाव आवश्यक रहेको बताउँदै नेपालको समृद्धि, स्थायित्व र सामाजिक न्यायको यात्रामा तामाङ समुदायको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले सोनाम ल्होसारले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव तथा भातृत्वको भावना बढाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend