चुलाचुली । ईलामको चुलाचुली स्थित चुलाचुली नगर अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीमद्भागवत सप्ताह महापुराण तथा ज्ञान महायज्ञ–२०८१ सञ्चालन गरिने भएको छ ।
आगामी कार्तिक २६ गतेदेखि मंसीर ३ गतेसम्म चुलाचुली–२ वाह्रगोठे स्थित अस्पताल परिसरमा समावेशी श्रीमद् भागवत महापुराण तथा ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको गाँउपालिका अध्यक्ष तथा समावेशी श्रीमद्भागवत महापुराण तथा ज्ञानयज्ञका अध्यक्ष राजेन्द्र केरुङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
चुलाचुली अस्पतालमा अक्षय कोषको व्यवस्था गर्ने, स्वास्थ्यको पहुँच नभएका नागरिकहरूमा सुलभ स्वास्थ्य सेवाको पहुँच पुर्याउने, चौबीसै घण्टा अस्पतालबाट नागरिकहरूमा सेवा प्रवाह गर्ने लगा एकै मञ्चमार्फत सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुताको सन्देश प्रवाह गर्ने, विभिन्न भाषा साहित्य संगीत र मौलिकताका क्षेत्रमा काम गर्ने बौद्धिक व्यक्तिहरूको पहिचान गरी सम्मान गर्ने, चुलाचुली क्षेत्रभित्रको भूगोलमा रहेका शहीदहरू प्रति हार्दिक सम्मान र श्रद्धाञ्जली सहित परिवार दाताहरूको सम्मान गर्ने, पालिकाको सामाजिक तथा आर्थिक रूपान्तरणमा टेवा पु¥याउने, चुलाचुली अस्पताललाई चुलाचुलीको गौरवका रूपमा स्थापित गर्ने उद्देश्यका साथ समावेशी श्रीमद भागवत महापुराण सञ्चालन गर्न लागिएको अध्यक्ष केरुङले बताउनु भयो ।
कार्यक्रममा अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण व्यवस्थापन गर्ने, चुलाचुली गाउँपालिकाको आयोजनामा चुलाचुली नागरिक समेतको अपनत्व हुनेगरी समावेशी श्रीमद्भागवत सप्ताह महापुराण सञ्चालन गरिने छ । कार्तिक २६ गते विभिन्न जातजातिका झाँकी सहितको कलश यात्रावाट शुरु हुने सप्ताह पुराणमा सात दिन सातवटै धर्मका गुरुहरूले प्रवचन गर्ने तयारी समेत भै रहेको रहेको छ । जसमा सातै दिन हिन्दु, बौद्ध, किराँत, स्वर्गिक मार्ग, इसाई लगायत धर्मका समावेशी प्रवचन समेत पुराणमा रहने अध्यक्ष केरुङले बताउनु भयो ।
समावेशी श्रीमद भागवत महापुराण तथा ज्ञान यज्ञ मूल समारोह समितिका सचिव ‘विवशु बलिभद्र कोइरालाले सञ्चालन गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा धार्मिक सद्भाव बलियो बनाउन, अस्पतालमा विशेषज्ञ र अपुक सामग्री व्यवस्थापन गर्न समेत महायज्ञले सहयोग गर्ने बताइएको छ। पुराण सम्पन्न गर्नलाई ३५ लाख रुपैयाको लागत लाग्ने अनुमान गरिएको छ भने पुराणबाट १ करोड रुपैया भन्दा बढी संकलन हुने अनुमान गरिएको अध्यक्ष केरुङले बताउनुभयो।
पुराण सम्पन्नसगैं आगामी मंसीर २ गतेवाट अस्पताल विधिपूर्वक सञ्चालनमा ल्याईनेछ । स्वास्थ्य मन्त्री प्रदिप पौड्यालको प्रमुख आतिथ्य र इलाम क्षेत्र नं २ संघिय सांसद सुहाङ नेम्बाङको विशेष आतिथ्यमा २४ सै घण्टा अस्पताल सञ्चालन शुरुवात गरिने वताइएको छ।
पत्रकार सम्मेलन मार्फत आम चुलाचुलीबासी नागरिक, शुभचिन्तक, बुद्धिजीवी, शिक्षक, अभिभावक, विद्यार्थी, सामाजिक र धार्मिक संघसंस्था, देश र विदेशमा रहनुहुने महानुभावहरुमा जानकारी सहित उपस्थिति, सहयोग र हौसला समेतको अपेक्षा रहेको वताइएको आयोजकले जनाएको छ ।