logo
शुक्रबार, साउन २९ २०८३

कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन, बिहान कुकुरको पूजा, साँझ लक्ष्मीको आराधना


  • कुइनेटो न्युज
  • बिहिबार, कार्तिक १५ २०८१

काठमाडौं, तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ घडी २७ पला अर्थात् दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि छ। त्यसपछि औँसी लाग्छ। ‘लक्ष्मीपूजा औँसीको साँझ वा रात्रिमा गर्ने विधान भएकाले बिहीबार नै लक्ष्मीपूजा परेको हो’, समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भने।

उनका अनुसार शुक्रबार साँझ औँसी पूरा भई सक्छ। शुक्रबार औँसी तिथि २७ घडी ३० पला अर्थात् अपराह्न ५ बजेर १५ मिनेटसम्म रहेको उनले बताए।

कुकुरपूजा

सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका ‘श्याम’ र ‘सबल’ नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ।

मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान छ। यद्यपि प्रत्येक दिन बिहान भोजन तयार भएपछि काग र कुकुरलाई खान दिएर मात्र आफूले खानुपर्ने सनातन धर्मको निर्देश छ।

चतुर्दशीको बिहान झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसेर अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने र ‘नरक जानु नपरोस्’ भन्ने उद्देश्यले बत्ती नदीमा बगाउने विधान पुराणमा पाइन्छ। यो दिनलाई नरक चतुर्दशी वा ‘नर्के चतुर्दशी’ भनिन्छ।

लक्ष्मीपूजा (दीपावली)

औँसीको साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा छ। यसलाई तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ।

औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको दिनको रूपमा यो दिन उनको पूजा–आराधना गर्ने विधान रहेको बताइन्छ। संस्कृत भाषाका विद्वान् स्व. शिवराज आचार्य कौण्डिन्न्यायनको ‘वैदिक धर्म मूल रूपमा’ पुस्तकमा उल्लेख भएअनुसार यस दिनको उत्सवलाई ‘कौमुदी-महोत्सव’ वा ‘कौमोदिनीमहोत्सव’ पनि भनिन्छ।

सफासुग्घर र उज्यालो भएका ठाउँमा लक्ष्मीको प्रवेश हुने विश्वास अनुरूप घरआँगन, कोठाचोटा सफासुग्घर पारी, लिपपोत गरिन्छ। यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा नदीमा तोरण टाँग्ने चलन छ।

साँझ भएपछि आँगनदेखि पूजास्थलसम्म लक्ष्मीको पाइला बनाई दीपावली गरिन्छ। दीप-कलश-गणेशको पूजा गरी धनका देवता कुवेरसहित समृद्धिकी देवी लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मीलाई प्रसन्न पार्न श्रीसुक्त पाठ गरिन्छ।

यो दिन विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धनधान्यले युक्त हुने, समृद्धि प्राप्त हुने पुराणमा उल्लेख भएको इतिहास पुराणकी ज्ञाता प्रियंवदा काफ्ले बताउँछिन्।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend