कमल । जिल्ला अदालत झापाको प्रमूख न्यायाधीशमा उमेश प्रसाद लुइटेल आउनु भएको छ ।
जिल्ला अदालतमा २ बर्षको कार्यकाल पूरा गरी प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको सरूवा भएपछी प्रमुख न्यायाधीशको रुपमा लुइटेल आउनुभएको हो ।
प्रमुख न्यायाधीशको कार्यभार सम्माल्न आउनुभएका लुइटेललाई एक कार्यक्रमका बीच झापा जिल्ला अदालतले स्वागत गरेको छ ।
झापा जिल्ला अदालतका माननीय न्यायाधीश प्रकाश कुमार अधिकारी, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्र केशरी पोखरेल, रामप्रसाद पौडेल, श्रेस्तेदार किरणकुमार सिंह लगायत अदालतका कर्मचारीहरु समेतको उपस्थितिमा प्रमुख न्यायाधीश लुइटेललाई स्वागत गरिएको अदालतका प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिनुभयो ।
अदालती कामकारवाहीमा ढिलासुस्ती, पक्षपात हुन्छ भन्ने गुनासो कम गर्न अदालतबाट प्रवाह गरिने सेवामा अझ सुधार गरी पारदर्शी, छिटोछरितो, सरल एवं जनमैत्री सेवाप्रवाह गर्ने र अदालत प्रति जनताको जनविश्वास बढाउने अदालतको लक्ष्य रहेको प्रमुख न्यायाधीश लूईटेलले बताउनु भयो।
उहाले अदालतको रणनीतिक योजना अनुसार झापा अदालतले समेत आफ्नो लक्ष र उद्देश्य सहित कार्ययोजना बनाई लागु गरेको हुदा अब न्यायिक काम कारबाहीमा ढिलासुस्ती र पक्षपात हुने गरेको गुनासो आउन नदिने गरी काम गर्न समेत लुईटेलले अदालतका सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो।
न्याय सम्पादनलाई अझ प्रभावकारी बनाउन कर्मचारी वर्गले उत्कृष्ठ नतिजामुखी काम गर्नू आवश्यक छ भनी सोही कार्यक्रममा बोल्दै न्यायाधीश तेजबहादुर खड्काले बताउनु भयो।
त्यस्तैगरी, मुद्दाको संख्या बढ्दै गएको छ तरपनि अदालतको पूर्वाधार र जनशक्ति अभावका बाबजूत गुनासो नआउने गरी काम गरिने भनी अदालतका श्रेस्तेदार सिंहले बताउनु भयो।
अदालतले यो आर्थिक वर्ष देखी स्वचालित पेशी सन्चालनमा ल्याइएको छ भने फरक मुद्दा ब्यबस्थापन अनुसार मुद्दालाई बर्गिकरण गरिएको छ ।
झापा अदालतमा ९ जना न्यायाधीशको दरबन्दी रहेकोमा हाल ७ जना न्यायाधीश रहनु भएकोछ। सामान्यतयः २÷२ बर्षमा न्यायाधीशको सरुवा हुने गरेको र सरुवा भएर आउनु भएका अर्का न्यायाधीश महेन्द्र प्रसाद पोखरेल समेतलाई सोही कार्यक्रममा स्वागत गरिएको अदालत प्रशासनले जनाएको छ ।