दमक । नेपाल कम्यूनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले अव विदेशका ठुला र चिल्ला सडक अनि टाढा–टाढा गएर ‘सेल्फी’ खिचेर पोस्ट गर्ने दिनको अन्त्य भएको बताउनुभएको छ ।
बुधबार झापाको कमल गाउँपालिका—५ स्थित पाडाजुङ्गीमा आयोजित एशियन हाइवेमा पर्ने पूर्व पश्चिम राजमार्ग काँकरभिट्टा—लौकही सडक खण्डको स्तरोन्नती कार्यक्रमको शिलान्यास समारोहमा बोल्दैं पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले हामीले विदेशमा देखेका ठुला चिल्ला सडक अब नेपालमै देख्न पाउने तर, त्यसका लागि केही समय धैर्य गर्नुपर्ने बताउनुभयो ।
‘यस कार्यका लागि सवैभन्दा पहिला म दातृ निकाय एशियन विकास वैंकलाई धन्यवाद दिन चाहान्छु ’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेता ओलीले भन्नुभयो—‘यो विकास नभएर विकासको पूर्वाधारमात्र हो ।’ हामी कहाँ केही पूर्वाधार निर्माण गर्ने वित्तिकै खान पाईन्छ र भन्ने, यसको नकारात्मक टिप्पणी गर्ने चलन भएको स्मरण गराउँदैं स्वास्थ्य, शिक्षा, विद्युत सञ्चार यी सवै विकासका पूर्वाधार हुन यी कसैले पनि खाना चाँहि नदिने स्पष्ट पार्नुभयो ।
यी कुरालाई हामीले अवसरका रुपमा लिएर तथा प्रयोग गरेर हरेक क्षेत्रको विकासमा ध्यान दिनुपर्ने उहाँको भनाई थियो । ‘नसडकले भात खान दिन्छ, नत शिक्षा र स्वास्थ्यले नै नत विद्युतले दिन्छ न त सञ्चारले नै ’ओलीले भन्नुभयो —‘भात खान नदिए पनि यी पूर्वाधारले भात खाने अवस्था र अवसर चाँहि सिर्जना गर्छन । भात त आफैले जन्माएका बच्चाले समेत दिर्दैनन् । ’ यसकारण भात खान पाउने अवसर पनि हुन यस्ता कामहरु उहाँले थप्नुभयो ।
हरेक विकासका पूर्वाधारले उत्पादन र रोजगारीसँग जोड्ने भएकाले हरेक क्षेत्रका पूर्वाधारलाई विकाश र उद्यमशीलतासँग जोड्नुपर्ने आजको आवश्यकता औल्याउनुभयो । यस्ता पूर्वाधारलाई विकाससँग जोड्न सके स्थानीय स्तरमानै रोजगारीको अवसर सिर्जना हुने, थुप्रैले रोजगारी प्राप्त गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । त्यसकारण पनि हरेकले यस्ता अवसरलाई समयमै सदुपयोग गर्नुपर्ने नेता ओलीले बताउनुभयो । ‘निर्धारित समयमै यस कार्य सम्पन्न हुनेमा म ढुक्क छु ’ पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो—‘यसमा हामी सवैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौ ।’ यो काँकरभिट्टादेखि लौकहीसम्म एशियन हाईवेका रुपमा विकास गर्न शुरु भएको उहाँको भनाई छ ।
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कार्यक्रमको अध्यक्षता गदैं यो काम सम्झौता भए अनुसारको समयमै शुरु भएर सम्झौतामा उल्लेख भएर अनुसारकै समयमा सकिने स्पष्ट पार्नुभयो । उहाँले १ सय २० किलो मिटर लम्बाई मध्ये ९५ दशमलव ७६ किलो मिटर सडकको स्तरोन्नतिका लागि एडीबीको ऋण सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा स्तरोन्नति गरिने बताउँनुभयो ।
एडीबी र नेपाल सरकारबीच ७ जुलाई २०२३ मा ऋण सम्झौता र ३१ डिसेम्बर २०२९ मा ऋण सम्झौता समाप्त हुने जारी प्रेस नोटमा जनाईएको छ । काँकरभिट्टा केरखा ४५ किलो मिटर स्तरन्नतिका लागि दमकमा रहने गरी पूर्वी खण्डको योजना कार्यालय स्थापना गरिएको छ भने केरखा इटहरी खण्ड ५० दशमलव ७६ किलो मिटर खण्ड स्तरोन्न्तिका लागि इटहरीमा पश्चिम खण्डको योजना कार्यालय स्थापना गरिएको बताईएको छ । कुल ९५ दशमलव ७६ किलोमिटर सडकलाई तीन वटा प्याकेजमा विभाजन गरिएको छ ।
३ सय मिटरभन्दा लामा ६ वटा पुलहरुलाई २ वटा प्याकेजमा विभाजन गरिएको र विशेष आकारका आर्कषक पुलको रुपमा डिजाईन गरिएको बताईएको छ । २०८० कात्तिक २ गते सवै ठेक्काको सम्झौता गरिएको, २०८० माघ १९मा काम शुरु गरेर २०८३ माघ १९ मा निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । सवै ठेक्काको निर्माण अवधि ३ वर्ष राखिएको, निर्माण सम्पन्न पछि पनि थप ६ वर्षसम्म मर्मत सम्भार कार्य सोही निर्माण कम्पनीबाटै गराउने व्यवस्था गरिएको छ ।
नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीले बुधबार नै कन्काई नदीमा शिवगञ्ज—मदरगाछी जोड्ने पक्की पुलको शिलान्यास गर्नुभयो । झापा जिल्लाको पुरानो बजार शिबगञ्जदेखि मदरगाछी जोड्ने माईखोलामा प्रतिनधि सभा सदस्य एल.पी. साँवाको पहलमा पक्की पुल निर्माण गर्न लागिएको नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गानाले जानकारी दिनुभयो । शिलान्यास समारोहमा एडीबीका प्रमुख प्रतिनिधि, कोशी प्रदेशका खानेपानी सिँचाई तथा उर्जा मन्त्री एकराज कार्की,कोशी प्रदेशका प्रदेश सभा सदस्य लगायत सहभागी रहेका थिए ।