काठमाण्डौ ….!
आखिर,
काठमाण्डौ नै रहेछ ,
ऊसङ्ग एकपल्ट भेट्ने रहर
दोहोरो चिनजान गर्ने इच्छा
मसङ्ग नभएको कहाॅ हो र?
तर, गुनासोको बिस्कुन लगाउन
वर्षौदेखि उसैको भारी बोक्दाबोक्दै
थलिएका मेरा खुट्टाहरू घिसार्दैघिसार्दै
चारभञ्ज्याङ् कट्नै पो सकिएन
उसले पक्कै चिन्दैन होला,
नचिनोस्…, नचिने पनि
त्यो काठमाण्डौलाई,
-प्रश्न राख्न मन लागेको छ,
साञ्चै लुङा…,
यो खबर सुनाइ दिनुहोला ।
##
लखन थापा र काङसोरेहरूलाई
इतिहासकाे पानाभित्र किन नभेटिएको?
भगत शर्वजित र बिशेनगर्चीहरूले
शीरसम्म उठाउन किन नपाएको ?
इतिहास जित्नेहरू कै लेख्नेहरूले
जिताउनेहरू नविर्सदा के हुन्थ्यो र !
यता उभिएको फक्ताङलुङसॅगै
उता दोधारा र चादनी पनि त
उसले आफ्नै मान्दा के जान्थ्यो र !
तर, चार घेराभित्र हराएर
आफूले थाहा पाएको -धरहरा
मात्र, अन्तिम उचाइ हो ठानेर
सधैसधै छातीमा टेकिरहने
त्यो काठमाण्डौलाई
-प्रश्न गर्ने इच्छा जागेको छ,
पक्कै लुङा…!
-सम्झेर सुनाइ दिनुहोला ।
###
रोदी र बालनसॅगै-
पालम र घाटुसरी गाउदाकाे लय
हुर्रा र देउडासॅगै-
साकेला र झिझिया नाचिदाको ताल
के, सबैले मिलाउदा मिल्दैन र ?
बलेकै आगो ताप्नेहरूले
के, चुलामा पानी नछर्किदा हुदैन र?
सगरमाथाको उचाइसॅगै
-केचनाको गहिराइले
पशुपतिको आरतीसॅगै
-सिलौतीको एकतारेले
के, दाजिन खोज्नु गल्तिनै हुन्छ र?
तर, संकिर्णताको बर्को ओढेर
आफू माथि देखिएको,
एक फोक्टा -खुल्ला भाग
मात्र पो आकास हो -ठानेर
उसले चारभञ्ज्याङ बाहिर त
आकास नै छैन -भन्ने, मान्ने गर्छ,
तब त, प्रश्नै प्रश्न ठडिन्ने गर्छ ।
खाल्टाे बाहिरको आकासलाई
आफ्नै आकास- मानेन भने
चारभञ्ज्याङ बाहिरको मान्छेलाई
आफू जस्तै मान्छे -ठानेन भने
फेरि, यहीबाट अर्काे एउटा
के, बिद्रोहको सुरूवात हुदैन र?
साञ्चै लुङा…!
नबिर्सी सुनाइ दिनु होला ।
###
सदियौं सदीदेखि -म
यीनै प्रश्नले थिचिएर
अभेग-अभेग बाॅचिरहेको छु,
आफ्नै पो ठानेर, लुङा …!
यो खबर सुनाइ दिनु होला।
###