इलाम– इलामस्थित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई आउँदो उपनिर्वाचनमा विजयी गराउने प्रतिबद्धता गरेका छन् ।
आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका साझा उम्मेदवार सुहाङ नेम्बाङलाई जिताउने एमाले–माओवादी लिखित प्रतिबद्धताले दुवै दलका नेता–कार्यकर्ता उत्साही देखिएका छन् ।
एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र माओवादी जिल्ला संयोजक विजय खम्बूले सुहाङलाई ‘अत्यधिक बहुमतका साथ जिताउन’ जिल्लाका सबै नेता–कार्यकर्तालाई लिखित अपिल गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच इलाम क्षेत्र २ को उपनिर्वाचनमा एमाले उम्मेदवारलाई दुवै दलले जिताउने सहमति भएको थियो ।
यसअघि माओवादी जिल्ला कमिटीले केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमणलाई उम्मेदवारका लागि सिफारिस गरेको भएपनि उनले उम्मेदवारी नदिने र एमाले उम्मेदवारलाई सहयोग गर्ने केन्द्रमा सहमति भएको छ ।
यो सहमतिले जिल्लाका दुवै दलका नेता–कार्यकर्ता जित सुनिश्चित भएको भन्दै उत्साही भएका छन् । एमाले अध्यक्ष बस्नेतले साझा उम्मेदवार सुहाङलाई जिताउने दुुवै दलको प्रतिबद्धताले पार्टी संगठन उत्साही भएको बताए ।
‘अब हाम्रो जित सुनिश्चित भएको छ, सबै दल एकातिर र एमाले एक्लै एकातिर भएको क्षेत्रमा अहिले दुुई दल सँगै हुँदा जितका लागि मत सुनिश्चित भएको छ,’ उनले भने, ‘अझै हामी दुुवै दल हाम्रा उम्मेदवार जिताउन संयुक्त रूपमा टोल–टोल पुग्दैछौं ।’
माओवादी जिल्ला संयोजक खम्बूले पनि साझा उम्मेदवार सुहाङलाई जिताउन माओवादी प्रतिबद्ध रहेको बताए । ‘पार्टी केन्द्रबाट जे निर्देशन आएको छ, इलामस्थित माओवादीले इमान्दारीसाथ पालना गर्नेछ,’ उनले भने, ‘उम्मेदवार साझा भइसकेपछि उनलाई जिताउनु हाम्रो जिम्मेवारी हो ।’
०७९ को निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनका कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी)लगायत दलको गठबन्धन थियो । एक्लै प्रतिस्पर्धा गरेको एमालेले गठबन्धनका उम्मेदवारलाई हराएको थियो ।
त्यो निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए । रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए ।
समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र रास्वपाले चार हजार छ सय ८६ मत ल्याएका थिए ।
‘यो पटक हाम्रा उम्मेदवारले सजिलैसँग चुनाव जित्ने वातावरण बनिसकेको छ,’ एमालेनिकट एक मतदाता उत्साही हुँदै भन्छन्, ‘सुवास नेम्बाङले बसालेको विकासको जगमा फेरि वामपन्थी उम्मेदवारले समृद्धिको मार्गचित्र तयार गर्छन् भन्ने हामीलाई विश्वास पनि छ ।’
२०७४ सालको प्रदेशसभा निर्वाचनमा एमाले–माओवादीले इलामका निर्वाचन क्षेत्रमा साझा उम्मेदवारी दिँदा सबै यही पक्षका उम्मेदवार विजयी बनेका थिए । प्रतिनिधिसभा क्षेत्र १ मा एमालेका झलनाथ खनाल विजयी हुँदा एमालेकै सुवास नेम्बाङ २ नम्बरको आफ्नो विरासत थामेका थिए ।
प्रदेशसभामा पनि क्षेत्र १ (१)मा तत्कालीन एमालेकी खिनु लङ्वा, १ (२)मा एमालेकै काजीमान कागते, क्षेत्र २(१)मा एमालेका रामबहादुर राना र क्षेत्र २(२)मा माओवादीका धिरेन्द्र शर्माले विजय हासिल गरेका थिए ।
तर, ०७९ को निर्वाचनमा कांग्रेससहितका दलसँग गठबन्धन भएपछि इलाममा कांग्रेस उम्मेदवारले विजय हासिल गर्दैगर्दा माओवादीका उम्मेदवार चाहिँ पराजित भएका थिए । क्षेत्र १ मा कांग्रेस–माओवादी–एस गठबन्धनका साझा उम्मेदवार पूर्वप्रधानमन्त्री झलनाथ खनालले करिब ३० वर्षयताको विरासत गुमाए भने क्षेत्र २ मा पनि त्यही गठबन्धनका उम्मेदवार कांग्रेस जिल्ला सभापति डम्बर खड्का पराजित भए ।
प्रदेशसभातर्फ क्षेत्र २ (२)मा गठबन्धनका माओवादी उम्मेदवार कान्छा लावती पराजित भए ।
त्यतिमात्र होइन, स्थानीय तह निर्वाचनमा पनि केही पालिकाका प्रमुख पदमा कांग्रेस उम्मेदवार विजयी हुँदा गठबन्धनका सबै माओवादी उम्मेदवार पराजित भएका थिए ।
‘अहिलेसम्मको अनुभवले इलाममा एमालेसँगको गठबन्धनको रिजल्ट राम्रो छ,’ माओवादी जिल्ला तहका एक नेता भन्छन्, ‘कमसेकम कम्युनिस्ट दलले साझा उम्मेदवारलाई धोका दिँदैनन् भन्ने अनुभव इलामका एमाले–माओवादीजनमा छ, यो कायमै रहन्छ ।’
उपनिर्वाचन कार्यतालिकाअनुुसार उम्मेदवारी मनोनयन दर्ता आज (शनिबार) हुँदैछ ।