कमल÷ नेपाल शिक्षक महासङ्घ, कमलको नवनिर्वाचित गाउँ समितिको पहिलो बैठक बृहत् छलफल र महत्वपूर्ण निर्णयका साथ सम्पन्न भएको छ ।
कमल–५ स्थित मंगलमय माध्यमिक.विद्यालयको सभाहलमा समितिका अध्यक्ष मोहनकुमार बगालेको अध्यक्षतामा शुक्रवार दिन बसेको बैठकले
समितिका नवनिर्वाचित पदाधिकारीहरूबिच परिचय आदानप्रदान गर्नुका साथै निवर्तमान समिति र निर्वाचन समितिलाई कार्य सम्पादनको जिम्मेवारी पूरा गरेकोमा धन्यवाद ज्ञापन गरिएको थियो ।
त्यस्तै बैठकले विद्यालय कर्मचारी, बालशिक्षक र आयाहरूको हालको तलब न्यून रहेकाले त्यसलाई समय सापेक्ष वृद्धि, शिक्षक महासङ्घ कमल गाउँ समितिको कार्यालय सञ्चालनार्थ आवश्यक सहयोगका लागी कमल गाउँपालिका गाउँ कार्यपालिकासँग माग गर्ने निर्णय गरिएको महासंघका सुचना अधिकारी बिजय कुमार अअधिकारीले बताउनु भयो ।
कमल गाउँपालिका अन्तर्गतका सार्वजनिक विद्यालयहरू बाट र नेपाल शिक्षक महासङ्घका पदाधिकारीहरू एवम् सदस्यहरूबाट आर्थिक सहयोग सङ्कलन गर्ने, सङ्कलित रकमको कोषलाई मेची सहकारी संस्थामा खाता खोली अध्यक्ष र सहसचिव (अर्थ) को संयुक्त दस्तखतबाट खाता सञ्चालन गर्ने, गाउँपालिकाले शिक्षा सम्बन्धी योजना बनाउँदा र कार्यक्रम गर्दा शिक्षक महासङ्घको समेत राय, सल्लाह र परामर्श लिएर बनाउनको लागि गाउँपालिकाको ध्यानाकर्षण गराउने, शिक्षक तथा कर्मचारीहरूको तलबभत्ता मासिक रूपमा निकासा गर्न गाउँपालिकासमक्ष माग गर्ने लगायतका निर्णयहरू गरिएका अधिकारीले जानकारी दिनुभयो ।
त्यसै गरी उक्त बैठकले नेपाल शिक्षक महासङ्घ कमल गाउँ समितिका गतिविधिहरू र सूचनाहरूलाई सम्प्रेषण गर्न समितिका सहसचिव (खुल्ला) विजयकुमार अधिकारीलाई सूचना अधिकारीको रूपमा चयन गरी जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।