logo
शुक्रबार, साउन २९ २०८३

चिल्लागढधाममा महाशिवरात्रीका अवसरमा मेला लाग्ने


  • उमानाथ भण्डारी
  • आइतबार, फाल्गुन २० २०८०

कमल÷महाशिवरात्रीको अवसरमा झापाको शिवसताक्षी ९ स्थित चिल्लागढधाममा मेला लाग्ने भएको छ ।
झापाकै त्रीधामको रुपमा विकासको फड्को मार्दै गरेको धार्मिक ,ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको चिल्लागढधामक ओझेलमा परेको भन्दै त्यसको विकास, प्रचारप्रसार र प्रवद्र्धनको लक्ष्य राखेर धाम व्यवस्थापन समितिले शनिवार पत्रकार सम्मेलनगरी जनाकारी गराएको हो ।

गत वर्षदेखि चिल्लागढधाम परिसरमा धुमधामले महाशिवरात्री मेला लगाउन शुरु गरिएको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय चिल्लागढधाम विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी गराउनु भयो ।

पुर्वपश्चिम राजमार्ग देखी साढे ३ किलोमिटर दक्षिणमा रहेको चिल्लागढधाममा ५० हजार भक्तजनहरु भित्र्याउने आयोजककोले जनाएको छ ।
महाभारतकालीन इतिहास बोकेको चिल्लागढधामको प्रचारप्रसारका लागि फागुन २४, २५ र २६ गते मेलाको तयारी भएको जानकारी गराउदै पाँच हजार वर्ष अगाडि पाँच पाण्डवहरुले वनबासको क्रममा यज्ञ गरेको स्थान ओझेलमा परेको भन्दै त्यसको प्रचार प्रसारकालागी मेला लगाउने तयारी भैरहेको धाम व्यवस्थापन समितिका सह सचिव नारायण नेपालले जानकारी दिनुभयो ।

धाम परिसरमा विभिन्न जातजातिका मठमन्दिर निर्माणसँगै मौलिक घरसमेत निर्माण भइसकेको छ । राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको पूर्णकदको शालिक निर्माणले धामको मुहार फेरिएको छ ।

पछिल्लो समय संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले चासो दिन थालेपछि धाम परिसर झकिझकाउ भएकोले पर्यटनको मन लोभ्याउन सक्ने आयोजकले जनाएको छ ।

मेलामा रोटेपिङ, कोलम्बस नौका, ड्रागन रेल, जम्पिङ, घोडा लगायतका खेलतमासाहरुका रहने भएका छन् । मेलामा सांगीतिक कार्यक्रमका साथै संगिनी, च्याब्रुङ नाच, विभिन्न जातजाकिा झाँकीहरु प्रदर्शन गरिने बताइएको छ भने ७ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको धाम व्यवस्थापन समितिका अध्यक्ष तुम्बापोको भनाइ रहेको छ ।

मेला व्यवस्थापनका लागि शिशिर तुम्बापोको संयोजकत्वमा २४ सदस्यीय मूल आयोजक समिति गठन गर्नुका साथै विभिन्न उप–समितिहरु गठन गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

जसमा स्टेज व्यवस्थापनको संयोजकमा रमेश संग्रौला, साँस्कृतिक कार्यक्रमको संयोजकमा धनपति रिजाल, प्रचारप्रसार समितिको संयोजकमा राजन चापागाई, आर्थिक समितिको संयोजकमा नारायण नेपाल, सहयोग समितिको संयोजकमा भानु ढुङ्गेल, अतिथि सत्कार संयोजकमा पवित्रा सुब्बा, साउण्ड सिस्टम व्यवस्थापनको संयोजकमा तुलसीराम रिजाल रहेका छन् । त्यसैगरी स्वयम्सेवक परिचालन समितिमा ध्रुब राई, गोपिसिंह साँवा, विशाल लिवाङ, सरोज राई, सन्दिप फेम्बू, टिकाराम गौतम र विजय चौधरी रहेका छन् । मेलामा नौमती बाजा लगायत साँस्कृतिक झाँकी व्यवस्थापनका लागि कमला अधिकारीको संयोजकत्वमा उप–समिति गठन गरिएको छ ।
धाम परिसरमा रहेको शिवालय मन्दिरमा ६ फुट अग्लो प्राकृतिक रुपमा प्राप्त शिवलिङ्ग रहेको छ भने सीताराम मन्दिर, किरातेश्वर हाङसाम माङहिम, भगवती माता मन्दिर, दुर्गा मन्दिरलगायतका मठमन्दिर रहेका छन् । यज्ञकुण्डमा फुलेको कमलको फूलले आगन्तुकहरुलाई आकर्षित पार्ने गरेको छ ।
मेलामा रचना रिमाल र दिपक लिम्बूको प्रस्तुतीसँगै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताइएको छ । झापा क्षेत्र नं. ४ का संघीय सांसद लालप्रसाद साँवा लिम्बूले पहिलो दिन मेला उद्घाटनसँगै प्रमुख आतिथि रहने कार्यक्रम रहेको छ भने दोस्रो दिन शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्रा (रोशन) र तेस्रो दिन शिवसताक्षी नगरपालिका वडा नं. ९ का वडा डिल्लीलाल फेम्बू प्रमुख अतिथि रहने बताइएको छ ।

त्रीधामको रुपमा विकास भइरहेको ऐतिहासिक पृष्ठभूमि बोकेको चिल्लागढधाम ग्रामीण क्षेत्र र सरोकारवाला पक्षले चासो नदेखाउँदा ओझेलमा पर्दै गएको बताएको स्थनीय तथा बाल निकुञ्ज माविका सहायक प्रधानाध्यापक विष्णु खतिवडाले बताउनु भयो ।
उनले पाँच हजार वर्ष पुरानो ऐतिहासिक क्षेत्रलाई विकास गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार खुलेर लाग्नुपर्नेमा समेत जोड दिनुभएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend