कमल ÷ झापाको कमल गाउँपालिका १ स्थित नरेन्द्र जनता माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गर्दै विद्यालयको ५६ औं वार्षिक उत्सव तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको ५६ औं वार्षिक उत्सव तथा अक्षरारम्भ कार्यक्रमको उद्घाटन कोशी प्रदेशका सभासद हिक्मत कुमार कार्कीले गर्नु भएको थियो ।
वार्षिक उत्सवका अवसरमा विद्यालय द्वारा विभिन्न ८ जना व्यक्तिलाई सम्मान गरिएको थियो ।
जस अन्तर्गत निर्माण समिति सदस्य अम्बर कार्की, उत्कृष्ट शिक्षक पुर्णचन्द्र पोखरेल, कर्मचारी तर्फ कार्यलय सहयोगी राजु भुजेल, उत्कृष्ट अभिभावक सरस्वता ढकाल, उत्कृष्ट विद्यार्थी जोस्ना सापकोटा लाई प्रमुख अतिथि समेत रहनुभएका सभासद कार्कीले सम्मान पत्र सहित खादा ओडाएर सम्मान गर्नु भएको थियो ।
त्यस्तै विद्यालयले वार्षिक उत्सवका अवसरमा अन्तर विद्यालय आधारभुत हाजिरजवाफ प्रतियोगिता आयोजना गरेको थियो । जसमा प्रथम शान्ति आधारभुत विद्यालय शिवसतासी १ , द्वितीय सिङदेवी आधारभुत विद्यालय कमल ७ र तृतीय कालिका आधारभुत विद्यालय कमल १ रहेको विद्यालयले जनाएको छ ।
विज्ञान सामग्री प्रदर्शनी तर्फ मङ्गलमय माध्यमिक विद्यालय कमल ५, शहीद धर्मभक्त माध्यमिक विद्यालय कमल ३ र नरेन्द्र जनता माध्यमिक विद्यालय कमल १ उत्कृष्ट रहेकोले उत्कृष्ट विद्यालयलाई मेडल, ट्रफी तथा प्रमाण पत्र द्वारा पुरस्कृत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका सभासद हिक्मत कुमार कार्की, कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, १ नम्बर वडा अध्यक्ष केदार कटवाल लगायतले विद्यालयको सर्वपक्षीय विकासमा सहयोग गर्ने प्रतिवद्धता सहितको मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा राजनीति दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू संस्थाका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक बद्री कार्कीले विद्यालयको संक्षिप्त गतिविधि प्रस्तुत गर्नु भएको थियो ।