logo
शुक्रबार, साउन २९ २०८३

झापा गोल्डकप : पुरस्कार राशि वृद्धि गर्दै फागुनमा छैटौं संस्करणको तयारी


  • कुइनेटो न्युज
  • बुधबार, माघ १० २०८०

बिर्तामोड । मोफसलकै प्रतिष्ठित तथा लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको छैटौं संस्करण आगामी फागुन १९ गतेदेखि २८ गतेसम्म हुने भएको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन गरिँदै आएको झापा गोल्डकपको छैटौं संस्करणमा विजेता उपविजेता टिमको पुरस्कार राशिसमेत वृद्धि गरिएको आज (मगलवार) आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो ।

झापा गोल्डकप आयोजक समितिले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी गोल्डकपको तयारीका बारेमा जानकारी दिएको हो । प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका सात र विदेशी तीन गरी १० वटा टिमको सहभागिता रहने झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले बताउनु भएको छ ।

यसबर्ष झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । अध्यक्ष बस्नेतका अनुसार मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ ।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक दिन प्लेयर अफ दि म्याचले नगद ११ हजार रुपैयाँ पाउने जनाइएको छ ।

उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिनेछ र रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई पनि नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरेको जनाइएको छ । प्रतियोगिता झापाको शान भएकाले सवैलाई साथ र सहयोगको लागि आयोजकले आग्रह गरेको छ ।

प्रतियोगिता सञ्चालनको लागि महासचिव गजेन्द्रबहादुर पौडेलकोे नेतृत्वमा ६ सदस्यीय सचिवालय गठन गरिएको छ । सदस्यमा केशव भट्टराई, विशाल नेम्वाङ, हिमाल खरेल, भूमिका सुब्बा र चन्द्र तिम्सिना चयन हुनुभएको छ ।

झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले स्वागत गर्नुभएको थियो भने महासचिव गजेन्द्रबहादुर सञ्चालन गर्नुभएको थियो ।

काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबल हबको रुपमा विकसित गराउने उद्देश्यले २०७२ सालबाट झापा गोल्डकप शुरु गरिएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend