कमल । कमल गाउँपालिका २ स्थित ज्योति माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरेर आफ्नो ५७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
कमल गाउँपालिका कै पहिलो बालमैत्री विद्यालय रहेको यस विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले पानसमा बत्ती बालेर गर्नु भएको थियो ।
त्यस लगत्तै अध्यक्ष राई र उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले संयुक्त रुपमा विद्यालयमा निर्मित विज्ञान प्रयोगशाला कक्षको उद्घाटन गर्नुका साथै निरीक्षण गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रममा विद्यालयलाई विविध क्षेत्र बाट सहयोग गर्नुहुने महानुभावलाई नगद तथा जिन्सी द्वारा सम्मान गर्नुका साथै विद्यालयमा अध्ययनरत जेहेन्ददार विद्यार्थीलाई छात्रवृति तथा विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमका विद्यालयका प्रधानाध्यापक नगेन्द्र बस्नेतले विद्यालयको वार्षिक प्रतिवेदन तथा विविध गतिविधि प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, पूर्व प्रधानाध्यापक , शिक्षक, विद्यार्थी , लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रम विद्यालयका शिक्षक अनुप वस्ती र रमा लामिछानेले सञ्चालन गर्नु भएको थियो भने सहायक प्रधानाध्यापक नारायण बस्नेतले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुका साथै शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।