कमल ÷ झापाको कमल गाउँपालिकाले आज आर्थिक वर्ष २०७९÷०८० मा सञ्चालित योजना तथा कार्यक्रमहरूको वार्षिक समीक्षा गरेको छ ।
गाउँपालिकाको सभाहलमा सम्पन्न समीक्षा कार्यक्रममा वडागत रुपमा भए गरेका योजना तथा कार्यक्रमहरूको प्रगति वडा सचिवले र शाखा गत रुपमा भएको प्रगतिको शाखा प्रमुखहरूले प्रगति प्रस्तुत गर्नु भएको थियो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा अनुमानित आयतर्फ ८१ करोड ६६ लाख ३९ हजार ८२५ रुपैयाँ अनुमान गरेकोका ७० करोड ५१ लाख ६२ हजार ५१९ रुपैया वास्तविक आय भएको र खर्च तर्फ ६२ करोड ३९ लाख ४० हजार ९१६ रुपैया खर्च भएको लेखा अधिकृत सृजना राईले जानकारी दिनुभयो ।
त्यस्तै चालु तथा पुँजीगत खर्च तर्फ अन्तर्गत चालु खर्च तर्फ ३६ करोड १४ लाख ३४ हजार ५७८ रुपैयाँ खर्च भएको थियो भने पुँजीगत खर्च तर्फ २६ करोड २५ लाख ०६ हजार ३३८ रुपैयाँ गरी जम्मा खर्च ६२ करोड ३९ लाख ४० हजार ९१६ रुपैयाँ खर्च भएको जनाईएको छ । 
चालु खर्च तर्फ ८२ दशमलव ४० प्रतिशत पुँजीगत खर्च तर्फ ६९ दशमलब ४५ प्रतिशत गरी जम्मा ७६ दशमलव ४ प्रतिशत खर्च भएको अधिकृत राईले बताउनु भयो ।
सोही अवसरमा अन्यत्र बाट सरुवा भई कमल गाउँपालिकामा आउनु भएका कर्मचारीलाई उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र प्रमुख प्रशासकीय अधिकृत राज कुमार शाक्यले अबिर तथा खादा लगाएर स्वगत गर्नु भएको थियो ।
कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको अध्यक्षता भएको समिक्षा कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख सार्थक घिमिरेले गर्नु भएको थियो ।